
काठमाण्डु, २५ कात्तिक– संविधानका विवादित मुद्दा टुंग्याउन छाडी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा गएकामा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईका साथै उनी पक्षीय नेताहरुले तीव्र असन्तोष प्रकट गरेका छन् ।
पार्टी कार्यक्रमबारे आफूहरु अन्योलमा रहेको र हिँड्नुअघि मात्र बताएको भन्दै नेता बाबुराम भट्टराईले प्रचण्डप्रति गुनासो पोखेका थिए । प्रचण्डले पार्टीकै आन्तरिक समस्या छिनोफानो गर्नुपर्छ भनेर केन्द्रीय समिति बैठकसमेत छलेको आरोप छ ।
‘यस्तो बेला रोल्पा–रुकुम हिँड्नुले पार्टीलाई राम्रो गर्दैन । बाहिर सन्देश पनि राम्रो जाँदैन’ प्रचण्डलाई आइतबार साँझ आफूले दिएको सुझाब उद्धृत गर्दै भट्टराई पक्षका एक नेताले भने ,‘बरु केन्द्रीय समिति बैठक बोलाउनुस् । संविधानलगायत विषयमा त्यहीं छलफल गरौं ।’
संघीयता र शासकीय स्वरुपमा कांग्रेस–एमालेसहितका दलसँग मत बाझिएपछि प्रचण्डले बैठक प्रक्रिया छाडेर रोल्पा यात्रा तय गरेका हुन् । त्यहाँ प्रचण्ड सामेल हुने साताव्यापी राजनीतिक कार्यक्रमबारे आफू बेखबर भएपछि भट्टराईचाहिँ आक्रोसित भएका हुन् ।
‘जनता कार्यकर्ताका कुरा सुन्न जानु नराम्रो होइन । तर यो त्यता जाने बेला होइन, ‘भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले भने, ‘संविधानका विवादित मुद्धामा अन्य पार्टीसँग बसेर सहमति जुटाउनु पथ्र्यो । पार्टीकै विवाद पनि टुंगो लगाउनुपथ्र्यो ।’ भट्टराईले सोमबार नै प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङसँग समेत परामर्श गरी मंगलबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बोलाएका छन् ।
कान्तिपुर दैनिकबाट