
काठमाण्डु, २२ कात्तिक– बालाजु पार्कस्थित बाइसधाराको ठिकमाथि तिखा काँडामाझ काँडेफूल फक्रिएको छ ।
त्यही फूल छेउमै एक युवक उभिएका छन् । फूलको तस्वीर लिएलगत्तै युवकले इसारा गर्दै भने ,‘खै हेरौं त, फूलको फोटो कस्तो आउँछ ?’ क्यामेरा हातमा लिएर काँडाबीचमा मुस्कुराइरहेको रातो फूल निक्कै बेर नियाले, मुसुक्क हाँसे र भने ,‘त्यस्तै छ मेरो कथा पनि ।’
काठमाण्डुको बनस्थलीमा डेरा गरी बस्ने यी युवक हुन्, दीपक पोखरेल । उनी अध्ययनका लागि जनकपुरबाट राजधानी आएका रहेछन् । तीन वर्षअघि यहीँकी युवतीलाई मन पराए । डेटिङ जान थाले । युवतीसँग मनका कुरा साटासाट गर्न उनी सहरबाहिर गोदावरीसम्म पुग्थे ।
राजधानीकै धार्मिकस्थल पनि चहारे तर चारैतिरको डर सहँदै । त्यही क्रममा एकपटक उनी अप्ठ्यारोमा परे । ‘दुई वर्षअघि पशुपतिछेउ एकान्तमा कुरा गरेर बस्दा प्रहरीले देख्यो । किन आएको भनेर केरकार गर्यो र चौकी जाऔं भन्यो,’ उनले आफ्नो डेटिङ अनुभव सुनाए ,‘खल्तीबाट दुईसय निकालेर हातमा राखिदिएको उm आफैं चौकी फर्कियो ।’
डेटिङमा बाधा पुर्याउन आएको प्रहरीलाई त फर्काए, तर मनमा बिथोलिएको शान्ति भने फर्किएन ।
त्यो घटनापछि उनी डेटिङ जानै डराए । साताको दुई–तीन पटकसम्म हुने उनीहरुको डेटिङ दुई महिनामा एकपटक पनि हुन पाएन । उनी निराश देखिए । त्यहीँ काँडेफूलतर्फ हेर्दै सुस्केरा हाले ,‘मैले माया गरेको प्रेमिकाको अर्कैसँग बिहे भइसक्यो ।’
भक्तपुरस्थित सिद्धपोखरीमा भेटिए, बालाजुका कुमार गुरुङ । सङ्लो पोखरीमा माछाको चाल हेर्दै उनी प्रेमिकालाई कुर्दै थिए । ‘हामीलाई भन्दा पनि अहिले लेडिजलाई अप्ठारो छ’,उनले भने ,‘घरको मान्छेले अरु कुनै केटासँग देख्यो कि भरे थर्काइहाल्छ ।’
अहिलेको जमानामा आफ्नो प्रेमी वा प्रेमीकालाई बुझ्ने वातावरण बनिनसकेको उनी बताउँछन् । ‘हाम्रो उमेरको मान्छेलाई लभ पार्क चाहिन्छ, मानिसको चेतनास्तरमा पनि परिवर्तन आउन जरुरी छ,’ उनले भने ,‘तबमात्र हसर साँचो अर्थमा मायालुमैत्री बन्न सक्छ ।’ मुखले ठूला कुरा गरे पनि अझै समाज प्रेमीप्रति असहिष्णु रहेको उनको अनुभव छ । नागरिक दैनिकबाट