गाउँलेले निकालेपछि कुष्ठरोगी गरिवारको जंगलमा बास

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १:४८ मा प्रकाशित

पर्वत, २२ कात्तिक– कुष्ठरोग भएको थाहा पाएपछि पर्वतको ठूलोपोखरी गाविसको एक परिवारलाई स्थानीयले गाउँनिकाला गरेका छन् ।
ठूलो पोखरीकी २६ वर्षीया मुना नेपाली र उनका भाई आशिष नेपालीमा कुष्ठरोग भएको थाहा भएपछि गाउँलेले सामाजिक बहिष्कार गर्दै गाउँनिकाला गरेका हुन् ।
बाबुको मृत्युपछि आमासँगै बस्दै आएका मुनासहित अन्य तीन भार्इ गाउँबाट निस्कासित भएपछि हप्ता दिनसम्म जंगलमा बसेका थिए । अहिले उनीहरुलाई दाताको सहयोगमा अन्यत्र पुनर्वास गरिएको छ ।
केही वर्षअघि मुना र आशिषमा कुष्ठरोगको संक्रमण देखिएको थियो । सामाजिक रुपमा कुष्ठरोग सर्ने र अन्य प्रभाव बढ्ने भन्दै गाउँलेले घृणा गर्न थालेपछि आफूहरु वनवास गएको मुनाले बताइन् । ‘गाँउलेहरुले बाँचेर अर्थ छैन, मरे पनि हुन्छ भन्ने र विभिन्न गाली गलौज गर्ने गरेका कारण समाजबाट बहिस्कृत भयौं’ उनले रुँदै भनिन्, ‘सात दिनसम्म जंगलमा बस्यौं ,तीन भाइहरु खानेकुरा खोजेर ल्याउँथे, जे पायो त्यही खान्थ्यौं ।’ मुनाकै गाउँकी फुपु नाता पर्ने एक महिलाले उनीहरुका लागि कहिलेकाहीँ खाना खाने व्यवस्था मिलाएकी थिइन् । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us