सिलाइ कटाइले आत्मनिर्भर बनेको परिवार

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ११:५५ मा प्रकाशित

दाङ , २० कात्तिक – तुलसीपुर नगरपालिका वडा नं ९ कटकुँइयाकी सीता चौधरी आजभोलि आफ्नै कमाइले चार छोराछोरीलाई निजी विद्यालयमा पढाउन र घर खर्चसमेत चलाउन सक्ने भएकोमा निकै खुसी छन् ।

चार वर्ष अगाडि सीप विकास तालिम केन्द्र तुलसीपुरले सञ्चालन गरेको ६ महिने सिलाइ कटाइ तालिममा सहभागी हुने अवसर चौधरीले पाएकी थिइन् । निःशुल्करूपमा लिएको सो तालिमपश्चात अहिले उनले तुलसीपुरमा सिलाइ कटाइ केन्द्र सञ्चालन गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । जसका कारण जीवनयापनमा सहजता आउँदा उनी खुसी छन् ।

हाल उनी तुलसीपुर बजारमा प्रेरणा सिलाइ कटाइ पसल खोलेर निकै व्यस्त छिन् । ग्राहकको मागअनुसार कपडा सिलाइ गर्नुपर्ने हुँदा आजभोलि उनलाई कपडा सिलाउन भ्याइनभ्याई भएको देखिन्छ ।

द्वन्द्वको समयमा तत्कालीन राज्य पक्षबाट श्रीमान गुमाएको बताउने सीता भन्छिन् – “श्रीमान्लाई माओवादीको आरोप लगाउँदै तत्कालीन समयमा राज्य पक्षले मारिदिएपछि बेसहारा भएकी थिएँ, के गरुँ कसो गरुँ भनी चिन्ताले पिरोल्लिइरहन्थेँ, यो पेसाले राम्रो आम्दानी गर्न सफल भएपछि चारजना छोराछोरीलाई बजारमा आफूसँँगै राखेर निजी विद्यालयमा पढाइरहेकी छु ।”

अहिले सीताकहाँ अन्य चारजना महिलाले पनि कपडा सिलाउने रोजगारी पाएका छन ।

सीप विकास तालिम केन्द्र तुलसीपुरले दिएको ६ महिने निःशुल्क सिलाइ कटाइ तालिमले तुलसीपुर–६ रजौराकी शारदा चौधरीको जीवनमा पनि परिवर्तन ल्याएको उहाँ बताउनुहुन्छ ।

कार्यालयले दुई वर्ष अगाडि दिएको ६ महिने सिलाइ कटाइ तालिमपछि अहिले पसलमा काम गर्दा पैसा पनि कमाई हुन्छ । समयको पनि राम्रो सदुपयोग भएको शारदाको अनुभव रहेको छ । “अहिले प्रायः सबै कपडा सिलाउन सक्ने भइसकेकी छु । दैनिक एक हजारदेखि रु दुई हजारसम्म आम्दानी हुनुका साथै चारजना महिलालाई रोजगारसमेत दिएकी छु”– उहाँले भन्नुभयो ।

“कक्षा ७ मा पढ्दापढ्दै अन्तरजातीय प्रेम विवाह गरेको हुँदा माइतीले गरेको तिरस्कारको पीडालाई कम गर्न सिलाइ कटाइ सिक्न गएकी हँु, पछि श्रीमान्ले पनि यो पेसा अँगालेपछि काम गर्न सजिलो भएको छ”– शारदाले भन्नुभयो । अहिले त यो पेसा नै जीवनयापनका लागि राम्रो आम्दानीको स्रोत बन्न गएको उहाँको अनुभव छ ।

अहिले सीता र शारदाले मात्र होइन दाङका धेरै महिलाले यो सिलाइ कटाइ पेसा अँगालेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

बेरोजगार युवायुवतीलाई सीप सिकाई स्वरोजगार गराउने उद्देश्यले आफूहरूले बर्सेनि यस्ताखाले तालिम निःशुल्करूपमा दिने गरेको सीप विकास तालिम केन्द्र तुलसीपुरका प्रमुख नारायण रेग्मीले बताए ।

बढ्दो बेरोजगारी समस्याका कारण आफ्नै हातमा सीप भएमा आयआर्जन गरी आत्मनिर्भर बन्न सक्ने इच्छाले धेरै युवायुवती यो तालिमप्रति आकर्षित भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us