हेटौंडा, १६ कात्तिक– एक विदेशीसहित १० यात्रुको मृत्यु र ३० जना घाइते हुने गरी मकवानपुरको बसामाडीमा बस ठोक्काउने चालक पक्राउ परेका छन् ।

प्रहरीले बस चालक हेटौंडा नगरपालिका–१५ पदमपोखरीका ३१ वर्षीय राकेश तामाङलाई उनकै घरबाट आइतबार पक्रेको हो ।
तामाङलाई आइतबारै जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको र ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीविरुद्ध सवारी ज्यान मुद्दा चलाइएको छ । काठमाण्डुबाट विराटनगरका लागि छुटेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बसका चालक तामाङले बस साहुसँग विवाद भएपछि तीव्र गतिमा बस हाँक्दा इलामबाट काठमाण्डु आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको अर्को बसलाई शुक्रबार राति ठक्कर दिएको थियो ।