शीर्ष नेता दिनभर हराउँदा सभासदलाई लामखुट्टेको आक्रमण

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १३:५० मा प्रकाशित

sambad samiteeकाठमाण्डु, १६ कात्तिक– एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका ववादित विषयमा सहमति जुटाउन दिएको म्याद सकिने अन्तिम दिन आइतबार सिंहदरबारमा समितिको बैठक डाकिएको थियो ।
पूर्वनिर्धारित समयअनुसार सभासदहरु दुई बजे बैठकमा भाग लिन दुई बजे समिति कार्यालयमा भेला भए । तर, समिति सभापति र प्रमुख तीन दलका शीर्ष नेता बैठक कक्षमा थिएनन् । सभासदहरुले भट्टराईसहित शीर्ष नेतालाई कुर्नुसम्म कुरे ।

तर हाई काढेर सभासदहरु ६ बजेसम्म प्रतीक्षा गर्दा समेत शीर्ष नेताको अत्तोपत्तो नभएपछि साना दलका सभासद रिसले आगो भए । रिसाएका सभासदको नेतृत्व गरे फोरम लोकतान्त्तिक अध्यक्ष विजयकुमार गच्छदारले । सबैले एक छिन सल्लाह गरे र निष्कर्ष निकाले कि अब यसरी हुँदैन, तीन दलको रबैयाविरुद्ध बोल्नै पर्छ । त्यसपछि उनीहरु गच्छदारको नेतृत्वमा सरासर गए राज्य व्यवस्था समितिको हलमा । जहाँ सभापति भट्टराईसहित काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता संविधानका विवादमा छलफल गर्दै थिए । सुरुमा असन्तुष्ट सभासदहरुको नेतृत्व गरेका गच्छदार कड्किए । ‘तपाईंहरुको यो के रबैया हो ? हामीलाई दुई बजे बोलाएर तपाईंहरु आफू खुसी तीन दल मात्र बसेर छलफल गर्ने ? यस्तो हेपाहा व्यवहार अब हामी सहन सक्दैनौं । तपाईंहरुको बीचमा सहमति भएन भन्दैमा हामीमाथि अपमान गर्ने ?’

त्यसपछि माले महासचिव सिपी मैनाली शीर्ष नेतामाथि खनिए । उनले आफूहरुले अकारण दिनभर कुराएर लाम खुट्टटेलाई टोकाएको भन्दै उनले आपत्ति जनाए । त्यसपछि पालैपालो अरु केही सभासद पनि चिच्याउन थालेपछि नेताहरु रातोपिरो अनुहार लगाएर यता र उता हेर्न थाले । केही नाबोली जर्‍याक– जुरुक उठे र सरासर समितिको कार्यालयमा आए । सबैले उपस्थिति पुस्तिकामा हाजिर ठोके । त्यसका लागि जम्मा दुई मिनेट लाग्यो । समिति सभापति भट्टराईले आज सुरु भएको बैठक सोमबारसम्म जारी रहने गरी स्थगित भएको घोषणा गरे । सभासदहरु हेरेको हेर्‍यै भए, नेताहरु हुरुरु बाहिर निस्किए ।
समितिको कार्यलयबाट बाहिर निस्केपछि सभापति भट्टराईले समितिले आफ्नो कार्यविधिअनुसार सहमतिका लागि बारम्बार छलफल गर्दै आएको र आइतबार अन्तिम दिन भएकाले सुरु भएपछि लगातार भएको मानिने गरी सोमबारम्मका लागि बैठक स्थगित गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us