गृहमन्त्रीले माफी मागेपछि संसद सुचारु

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले माफी मागेपछि संसद सुचारु भएको छ ।

CA-buildingहिन्दू राज्यको माग राख्दै आएको राप्रपा नेपालले उपप्रधान तथा गृहमन्त्रीले शुक्रबार संसदमा गरेको सम्बोधनमा ‘भगवानप्रति अनास्था फैलाएको’, ‘हिन्दू धर्मावलम्बीलाई अपमानजनक अभिव्यक्ति दिएको’ आरोपमा अवरुद्ध स‌सद मन्त्री गाैतमले माफी मागेपछि सुचारु भएकाे हाे ।

हिन्दूधर्मप्रति अनादर गरेको भन्दै राप्रपा नेपालले सदन अवरोध गरेपछि सोमबारको बैठकमा ढिला उपस्थित भएका गृहमन्त्रीले ‘धर्मप्रति अपमान हुने शब्द फिर्ता लिन्छु’ भन्दै माफी मागेका थिए ।

हिन्दू राज्य स्थापनाको माग गर्दै राप्रपा नेपालले रत्नपार्कमा गरेको गाईसहितको अनसन र धर्नालाई गृह प्रशासनले बल प्रयोग गरेर हटाएको थियो । शुक्रबार सोही विषयमा विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रीसँग जवाफ मागेका थिए ।

गृहमन्त्रीले शुक्रबार दिएको जवाफमा हिन्दू धर्मावलम्बीहरुमाथि आक्षेप लगाएको राप्रपा नेपालको आरोप छ । गृहमन्त्रीले सार्वजनिक आवतजावत हुने ठाउँमा गाई बाँध्ने, भाला–खुकुरी लिएर ‘साक्षात् भगवान् प्रकट भएझैं गरी’ सडक अवरुद्ध गर्ने गरेका कारण धर्नाकारीलाई हटाइएको जानकारी दिएका थिए ।

शुक्रबार संसद भवनभित्र राप्रपा अध्यक्ष कमल थापा र गृहमन्त्री गौतमबीच ‘तँ–तँ र म–म’ शैलीमा भनाभन र पाखुरा सुर्कासुर्की भएको थियो । राप्रपा नेपालको आजको निर्णयले संसदमा फेरि घम्साघम्सी हुन सक्ने संकेत देखिएको छ ।

राप्रपा नेपालले शुक्रबारको संसद पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । राप्रपा नेपालको शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दल तथा केन्द्रीय पदाधिकारीको बैठकले गृहमन्त्री वामदेव गौतमले माफी नमागुन्जेल संसद् चल्न नदिने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us