सहमति खोज्न ओलीलाई भेटे प्रचण्डले

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ८:४८ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच लचकताका साथ संविधानका विवादित विषय समाधान गर्ने सहमति भएको छ ।

prachanda-kp oliओली निवास बालकोटमा भएको भेटमा प्रदेश विभाजन लगायतका विषयमा सहमतिमा पुग्न लचकता अपनाउने सहमति भएको हो ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले असहमतिका विषयलाई कसरी सहमति बनाउने भन्नेबारेमा छलफल भएको बताए । यस वर्षको माघ ८ मै संविधान जारी गर्न एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहमत भएको उनले जानकारी दिए ।

‘सहमतिको प्रयास जारी छ, यसका लागि सबै पक्ष लचिलो भएर जाने र सहमतिको बिन्दुमा पुग्नेबारे कुराकानी भयो,’ ओलीले सन्चारकर्मीसँग भने, ‘अब कसले कति लचिलो भएर सहमति खोज्ने हो भन्नेबारे अझै टुङ्गो लागेको छैन ।’

संविधान निर्माणका विवादित विषयमा एमाओवादी लचिलो हुने लक्षण आफूले देखेेको बताउँदै ओलीले छलफल र वार्ताबाटै निकास निकाल्ने पहल भइरहेको जानकारी दिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने छोटो प्रतिक्रिया दिँदै सहमति खोज्ने प्रयास भइरहेको र त्यसैका लागि छलफलमा बसेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us