संविधान जारी नहुँदासम्म आन्दोलन नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासमक्ष राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालले आगामी संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

sushilमहासङ्घका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ख्रिष्टियन समुदायको मृत्यु संस्कारको विषयलाई मध्यनजर गरी उपत्यकालगायत देशभरका सबै जिल्लाहरुमा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्नेलगायतका चार सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान जारी नहुँदासम्म कुनै पनि आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरे । महासङ्घका महासचिव सिवी गहतराजले सरकार र महासङ्घबीच २०६८ वैशाख १८ गते भएको तीन बुँदे सहमतिलगायत पटक–पटक भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “ख्रिष्टियन समुदायका आफ्ना मागसहितको ज्ञापनपत्र पटक–पटक बुझाउँदासमेत सुनुवाइ भएको छैन, अबको हप्तादिनभित्रमा माग पूरा नभएको खण्डमा देशव्यापी आन्दोलनको थालनी गर्नुको विकल्प छैन ।”

महासङ्घले विभिन्न मागसहितको ज्ञापनपत्र मन्त्री तथा विभिन्न राजनीतिक दलका नेतासमक्ष प्रस्तुत गरिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us