
एजेन्सी – ब्राजिलकी प्रथम महिला राष्ट्रपतिको रूपमा सन् २०१० मा विजय हासिल गरेकी दिल्मा रुसेफ सो पदमा पुनः विजयी भएकी छन् । विश्वमा राजनीति, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा महिला सहभागिता बढ्दै गएको यस अवस्थामा दोस्रोपटक पनि उनको विजयले विश्वको सामुनै महिलाहरू सशक्तरूपमा अघि बढ्दैछन् भन्ने दह्रो सन्देश गएको छ ।
ब्राजिलमा राष्ट्रपति पदका लागि गतः अक्टोबर ५ मा सम्पन्न निर्वाचनको परिणाममा कुनै पनि उम्मेदबारले स्पष्ट बहुमत ल्याउन नसकेपछि अक्टोबर २६ मा दोस्रो चरणको मतदान भएको थियो ।
ब्राजिलको निर्वाचन ऐनअनुसार राष्ट्रपति पदमा विजयी बन्नका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्छ । प्रथमपटकको मतदानमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदबारबीच दोस्रोपटक प्रतिस्पर्धा गराइने र यही प्रतिस्पर्धा नै निर्णायक हुने प्रावधान रहेको छ ।
अक्टोबर ५ मा सम्पन्न प्रथमपटकको मतदानमा प्रमुख उम्मेदवार दिल्मा रुसेफले ४१.६ प्रतिशत, एसियो नेभेसले ३३.६ प्रतिशत र मेरिना सिल्भाले २१.३ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने अन्य उम्मेदबारले ३.५ प्रतिशत मत हासिल गरेका थिए । निर्वाचन ऐनले तोके बमोजिम कसैको पनि को स्पष्ट बहुमत नआएकाले अक्टोबर २६ मा सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा दिल्माले ५१.६ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एसियो नेभेसले ४८.४ प्रतिशत मत प्राप्त गरी पराजित हुनुपरेको छ ।
सन् २०१० मा सम्पन्न निर्वाचनमा दिल्माले आफ्ना प्रतिद्वन्द्वीका तुलनामा अधिक मतान्तरले विजयी भएकी थिइन् भने यस वर्षको निर्णायक निर्वाचनमा भने ३.२ प्रतिशतको झिनो मतान्तरले मात्र विजयी भएकी छन् । विश्वको आर्थिक स्रोतको हिसाबबाट सातौं स्थानमा पर्ने देश ब्राजिलमा ६३ वर्षको उमेरमा दिल्माले तत्कालिन राष्ट्रपति लुला दा सिल्भालाई अत्यधिक मतले प्रतिस्थापन गर्दै ब्राजिलको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् ।
अत्यन्त उत्तेजक तर न्यायिक विचारधारा, व्यापक परिवर्तनको पक्षधर तर ब्राजिलको स्रोत र साधनले सजिलै थेग्नसक्ने भौतिक योजनाकार, सम्पूर्ण देशवासीको आर्थिकस्तर उकास्ने, विशेषगरी पिछडिएका महिलावर्गको उत्थान गर्ने उनको उद्घोषलाई ब्र्र्राजिलका जनताले सम्मान गरेकै कारण उनलाई सन् २०१० को निर्वाचनमा जनमतको ओइरो प्राप्त भई ब्राजिलको पहिलो महिला राष्ट्रिपति बन्ने सम्मान प्राप्त भएको थियो ।
उनको सर्वमान्य विचार, विवेकशील कार्यशैली र प्राप्त मतको मूल्याङ्कन गर्दै तत्कालिन समयमा उहाँलाई ‘डायनामाइट’ को संज्ञा दिइएको थियो । दिल्माको चार वर्षीय कार्यकालमा मुलुकको राजनीतिमा एकीकरण हुन नसकि राजनीतिक ध्रुबीकरण तीव्र भएको थियो । व्यापारी, उद्योगपति, लगानीकर्ता र उच्च आय भएका वर्गसँग बढी आर्थिक कर असुल गर्दा उनीहरू अत्यन्त आक्रोशित भएका थिए ।
पेट्रोब्राज नामक सरकारी स्वामित्वको इन्धन प्रशोधन कम्पनीमा भएको व्यापक भ्रष्टाचारीमा उहाँको मिलिमतो रहेको, धनी–गरिबबीचको खाडल बढेको, सरकारी क्षेत्रमा भएको अनियन्त्रित भ्रष्टाचार रोक्न असफल भएको, विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्दा चाहिनेभन्दा बढी खर्च गरी मुलुकलाई टाट पल्टाउन खोजेको, सार्वजनिक सेवा दक्ष र चुस्त नभएको जस्ता आरोप दिल्मामाथि लागेको थियो ।
उनको चार वर्षीय कार्यकालमा भएका प्रगति पनि कम सन्तोषजनक भने छैनन् । पहिला गुरिल्ला योद्धा समेत रहेकी, कट्टर वामपन्थी भनी परिचित दिल्मा रुसेफले आफ्नो मातृसंस्था ‘वर्कर्स पार्टी’ (स्थानीय भाषामा पिटी भनी परिचित) का सवै सदस्य हस्ती हरुको हृदय जिती सामाजिक सुधारका ठूलाठूला कार्यक्रम सञ्चालन गरी जनताको मन जितेकी थिइन् । उनले चार करोड भन्दा बढी ब्राजिली जनतालाई गरिबीबाट मुक्ति दिलाई जीवनस्तरमा भारी वृद्धि गरी राहत दिलाएको र आफ्नो कार्यकालको पहिलो समयमा मुलुकमा बेरोजगार दर ४.९ प्रतिशतमा झारी रेकर्ड कायम गर्न सफल भएकी थिइन् । अझ बढी उनले पहिलो विजय हाासिल गरेकी वर्ष सन् २०१० मा मुलुकको आर्थिक वृद्धि ७.५ प्रतिशतसम्म पुगि रेकर्ड तोडिएको थियो ।
यस पटकको निर्वाचनमा विजय हासिल गर्नुभएकी दिल्माका आगामी कार्यकाल अत्यन्त चुनौतीपूर्ण भएको विश्लेषकहरु बताउँछन् । हाल ६७ वर्षको अनुभवी दिल्माका अगाडि प्रमुख पाँच चुनौती तेर्सिएका छन् । राष्ट्रको उत्तरी भाग अहिलेसम्म गरिबी अवस्थामै छ तर दक्षिणाी भाग भने सम्पन्न र धनी अवस्थामा छ । उत्तरी र दक्षिणी जनताबीच सम्पन्नताको हिसाबले मनमुटाव, वैमनस्य, र विभाजन देखापर्ने गरेको छ । यसबाट मुक्ति दिलाउन दिल्माले कडा व्यवहार नअपनाई नरमपन ग्रहण गर्नु अति आवश्यक छ । दिल्माको स्वभाव र कार्यशैली परिवर्तन भए मात्र यो सम्भव छ ।
राजनीतिक हिसाबले धनी र गरिब, विदेशी शक्ति र स्वदेशी राजनीतिमा धु्रबीकरण भएको मुलुुकलाई एकीकृत गरी अगाडि बढाउनु छ । व्यापार, वाणिज्य र लगानी क्षेत्रको गुमेका शाख यथावत् स्थानमा ल्याउनु छ । ओरालो लागेको अर्थतन्त्र रोकी पुनः उकास्नु छ, अनियन्त्रित भ्रष्टाचारलाई रोकी मुलुकमा पुनः शान्ति र सुव्यवस्था कायम गर्नु छ ।
दिल्माको दोस्रो कार्यकालको विजयपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाइ ज्ञापन गर्नुहुदै ब्राजिल आफ्नो निकट र विश्वसनीय साझेदार भएको बताएका छन् । आशा गरौं आगामी जनवरी १ बाट सुरु हुने उनको दोस्रो राष्ट्रपतीय कार्यकाल अत्यन्त सफल भई ब्राजिललाई विश्व समूदायसामु अझै उच्च स्थानमा राख्न दिल्मा सफल हुनेछिन् । रासस