प्रचण्ड क्रान्ति छाडेर गाई भैंसी पाल्ने संघर्षमा लागेका छन्: विप्लब

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ३:५५ मा प्रकाशित

अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नुभएको छ ?
biplavनेपाली राजनीति यतिबेला क्रान्ति र प्रतिक्रान्तिमा केन्द्रित भइरहेको छ । परिस्थिति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । शान्तिकालको प्रारम्भमा सहकार्यमा आएको एउटा संसदवादी पुजिवादी शक्ति दलाल पुँजिवादी शक्तिमा नाङगोरुपले पतन हुँदै राज्यमा प्रतिक्रान्ति गर्नेतर्फ गइरहेको छ । अर्को नेपाली जनता र माओवादी पार्टी शान्तिकालमा आउँदा भएका सहमति र अग्रगामी राजनीतिक निकास अर्थात जनयुद्ध कालका जनताका मागहरुलाई पूरा गर्दै राज्यलाई नयाँ बनाउँदै जनताको संविधान दिनु पर्दछ भन्ने पक्षमा खडा भएका छन् । यी दुई प्रवृत्तिबीचको संघर्षमा देश तानिँदै गएको छ । यहाँनेर ध्यान दिनुपर्ने मामिला यो छ कि जतिसुकै षडयन्त्रका बावजुद क्रान्तिमाथि प्रतिक्रान्ति हाबी हुने सम्भावना देखिँदैन । भविश्य क्रान्तिको नै उज्यालो छ ।
माघ ८ मा संविधान जारी गर्ने कुरा संविधानसभाभित्रका दलहरुले उठाइरहेका छन् , तपाईंहरुले संविधानसभाको चुनाव बहिस्कार गर्नुभयो सविधान जारी हुने स्थितिमा तपाईंहरु के गर्नुहुन्छ ?
केही दल र दलका मान्छेहरुले माघ ८ मा संविधान बन्ने, अझ माओवादीबिना पनि बन्ने प्रचार गर्दै हिंडेका छन् । तर ती मान्छेहरु भित्तामा टाउको ठोकिएपछि बुद्धि आउने खालका मान्छे हुन्जस्तो लाग्छ । उनीहरुलाई के कुरा थाहा होला भने संविधानसभाको माग गर्ने अनि पछिल्लो समयमा राष्ट्रिय राजनीतिक सभाको माग गर्ने माओवादी पार्टी र श्रमिक जनता संविधानसभाभन्दा बाहिरै छन् । माओवादी जो शान्ति प्रकृयाको मुख्य हिस्सेदार शक्ति हो त्यसको असहभागितामा संविधान बन्ला या बने पनि समस्या हल होला भनेर विश्वास गर्ने को छ ? मत माओवादीबिनाको राज्य, माओवादीबिनाको संविधान अकल्पनीय कुरा हो भन्ने ठान्छु । कथमकदाचित बनाइ हालेछन् भने पनि त्यसको औचित्य रहने छैन । यसो भन्दाभन्दै पनि संविधान कसैबाट फुक्न लगाइन सक्छ तर सबैले हेक्का राखे हुन्छ त्यो चाल कदापी सफल हुने छैन । हामी संसदीय संविधान र संसदीय व्यवस्थाको विरुद्ध प्रतिरोध संघर्ष अगाडि बढाउने छौं ।
एकीकृत माओवादी र नेकपा–माओवादीबीच पार्टी एकताको चर्चा चलिरहेको छ वास्तविकता के हो ?
बस्तवमा क्रान्तिकारीहरु बीचको एकता निकै महत्वपूर्ण र आवश्यक कुरा हो । अपसोच एमाओवादी र हाम्रा बीचमा केही निकै फरक राजनीतिक नीति र कार्यक्रमहरु छन् । जस्तो कि उहाँहरु राजनीकिक क्रान्ति पूरा भइसक्यो, अब आर्थिक क्रान्ति मात्र काँकी छ भन्नुहुन्छ । हामी नेपालमा राजनीतिक सत्ता नै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नुपर्दछ भन्छौं । उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक बनाउनु हुन्छ ,हामीले राजनीतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौं । उहाँहरु एकथान संविधान बनाउनेतिर हुनुहुन्छ , हामी त्यो तरिकाले हुँदैन, जनताको संविधान नबन्ने भएपछि अर्को अधिकार सम्पन्न राजनीतिक सभा निमार्ण गरौं भन्छौं । उहाँहरु गाई भैंसी पाल्ने संघर्ष मुख्य हो भन्नु हुन्छ हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनुपर्दछ भन्छौं । उहाँहरु राष्ट्रिय स्वाधिनतालाई सहायक बनाउनु हुन्छ, हामी मुख्य समस्यामध्ये हो भन्छौं । यी यस्ता अन्तरहरु हुन् जसको अन्त्य नभए या यी कुराहरु एकरुपतामा नआई एकता सम्भव छैन । यसलाई हामीले गणतव्यसहितको एकता भनेका छौं । गणतव्यसहितको एकता मात्र बास्तविक एकता र सफतासम्म पुर्‍याउने एकता हुन्छ । गणतव्यबिनाको एकता चोकको जमघटजस्तो हुन्छ । बाटो आफनै, उद्देश्य आफ्नै चोक भएकोले मान्छेकोबीच भिड देखिने मात्र । यस्तो एकता गर्नु हुँदैन । बास्तविक एकता मात्र गर्नुपर्दछ । यसको मतलब सधैंलाई एकता सम्भव छैन या गर्नु हुँदैन भन्ने चाहिं होइन । हाम्रो विचारमा माओवादीहरुको बीचमा एकता हुन्छ, तर नयाँ प्रक्रियामा त्यो पूरा हुने देखिन्छ ।
नेकपा–माओवादीभित्रको अन्तरविरोध विभाजनको तहसम्म पुगेको प्रचारमा आएको ,  त्यसको सत्यता के हो ?
हाम्रो पार्टीमा क्रान्तिको कार्यदिशाको बहस भइरहेको साँचो कुरा हो । त्यो सामान्य होइन, निकै गम्भीर र गहन खालको भएको पनि सत्य हो । यसको उद्देश्य एक मात्र छ, त्यो हो नेपालमा जुन खालको राजनीतिक बैइमानी र धोखा संसदवादी दलहरुबाट भयो । साथै जबर्जस्ती पूरानो राज्य सत्तालाई जनतामाथि लाद्ने खेल चल्दैछ । त्यसलाई परास्त गर्ने र जनताको राज्यसत्ता निमार्ण गर्ने । यसको लागि पहिले त पार्टीलाई सही राजनीतिक कार्यदिशा या क्रान्तिकारी कार्यदिशा चाहियो । क्रान्ति सम्पन्न गर्नका लागि यो अनिवार्य रुपले पूरा गर्नुपर्ने आधार हो । हामी त्यसैको लागि यो बहस गरिरहेका छौं । यो कुनै पार्टी फुट र एकताको कुरा नै होइन । अझ यो संगठनात्मक कुरा त हुँदै होइन । यो त निकै नै गम्भीर राजनीतिक लाइनको कुरा हो । यहाँ एकदमै गलत कुरा छ कि, पार्टीमा सही विचार, नीति , कार्यक्रमको बहस हुँदा साथ फुट र एकताको प्रचार सुरु भइहाल्छ । अझ त्यसमा पनि फुटकै बढी प्रचार गरिन्छ । यसको पछाडि प्रतिक्रियावादीहरुको जनतालाई गलत सन्देश दिने र निराश बनाउने जाल अनि अवसरवादीहरुको बहसलाई मुख्य मर्मबाट विषयान्तर गर्ने, भ्रम फैलाउने, आफनो अवसरवादी अनुहार लुकाउने र अवसरवादी राजनीति लाद्ने नियत दोषि देखिन्छन । अर्थात यस्तो प्रचार क्रान्तिकारीलाई कमजोर बनाउने र जनतालाई निराश बनाउने जाल हो । यसमा कोही पनि भ्रममा पर्नु हुँदैन । जब कि माओले नै भन्नु भएको छ कि ‘राजनीतिक कार्यदिशाले नै सबै कुराको फैसला गर्दछ ।’
पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भीर छलफल चलिरहेको छ । हामीले भनेका छौं मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निमार्ण गरेर जाऔं । मिल्दैन छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छm हामी एउटा सार्थक निष्कर्षमा पुग्नेछौं । साथै हामीलाई पूर्ण रुपले के विश्वास छ भने नेपाली क्रान्तिमा आइलागेको कठिन राजनीतिक मोडलाई सुल्झाएर अगाडि बढ्ने छौं ।  जब कि माओले भनेको या हामीले मानेको सच्चाइ त एकताको मुख्य आधार भनेको राजनीतिक विचार कार्यदिशा हो । यदि सही कार्यदिशा छ र बनाइन्छ भने एकता हुँदै जान्छ । गलत बन्न गयो भने फुट र पराजय हुँदै जान्छ ।
नेपाली मजदूर वर्गको अहिलेको अवस्था र मजदुर मुक्तिबारे तपाइँको धारणा के छ ?
नेपाली मजदुर वर्ग उत्पीडित अवस्थामा छ । नेपाली जनता र राष्ट्र उत्पीनमा छन् । यसको  कारण दलाल पुँजीपति वर्गको उत्पीडन र त्यसलाई रक्षा गर्ने दलाल पुँजिवादी राज्यसत्ता नै हो । नेपालमा दलाल पुँजिवादी राज्यसत्ता जसरी सबै क्षेत्रमा हाबी हुँदै गएको छ, यसले सबैतिर समस्याहरु पैदा गरिरहेको छ ।
मजदुरहरुलाई जिविका चलाउन गाह्रो भइरहेको छ । थोरै ज्याला, धेरै काम, श्रोत साधनको अभाव, महङगीको मार आदिले गर्दा मजदुरहरु निकै शोसित, दमित अवस्थामा छन् । देशमा नौ वर्षको राजनीतिक संक्रमणकाललाई जनताको विरुद्धमा प्रयोग गरिएको छ । जनताका माग र अधिकारहरु पूरा गर्नुको सट्टा जनतामाथि पूरानै वर्गको राज्यसत्ता लादिँदैछ । विषेशता भारतीय विस्तारवादी हस्तक्षेप असीमित प्रकारले नेपालमाथि लादिँदै छ । एक प्रकारले असैनिक अतिक्रमण भएको छ । यो अवस्थामा मजदुर वर्गको काँधमा दुइवटा कार्यभार आएका छन् । पहिलो मजदुर वर्गको अधिकार र मुक्तिको लागि संगठित र परिचालित हुने । दोस्रो नेपाली जनता र देशको लागि सक्रिय हुने । सामान्यत: हामीले भन्दै पनि आएका छौं कि अबको क्रान्तिमा मजदुर वर्गको भूमिका विगतकोभन्दा बढ्दै गएको छ । मजदुर वर्गले नयाँ क्रान्तिमा अग्रणी भूमिका पूरा गर्ने गरी आफूलाई परिपक्क र तयार गर्नुपर्ने आवश्यकता छ ।

 (नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दको लालमजदुरमा प्रकाशित अन्तर्वर्ताको सम्पादित अंश)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us