
सिरहा, ३० असोज – सिरहामा एक प्रहरी सहायक निरीक्षकले बुधबार आत्महत्या गरेका छन् ।
प्रहरी चौकी लगडिगदियानीमा दरबन्दी भई सिरहा कारागारमा कार्यरत झापाको बाहुनडाँगीका घर भएका प्रहरी सहायक निरीक्षक नरबहादुर कार्कीले आत्महत्या गरेका हुन् । कार्की मंगलबार बिहानदेखि कारागारमा अनुपस्थित रहेको प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताए ।
सारस्वरमा लाग्ने साप्ताहिक हाटमा कमला नदी तरेर आउने धनुषाका व्यक्तिहरुले झुण्डिएको देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले बुधबार साँझ उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ ।
कार्कीले सिसौंको रुखमा झुण्डिएर आत्महत्या गरेको र उनको गोजीबाट सुसाइड नोटसमेत बरामद भएको उनले भने । आफूलाई हेपाटाइटिस बी र लिभर जण्डिस रोग भएको र जति उपचार गरे पनि निको नहुने भएकोले आफैंले आत्महत्या गरेको यसमा अरु कसैको केही नभएको सुसाइड नोटमा उल्लेख रहेको गिरीले बताए ।
सुसाइड नोटमा उनको भाइ र बहिनीको मोबाइल नम्बरसमेत उल्लेख रहेको गिरीले जनाए । गिरीका अनुसार कार्की ४ महिनादेखि कारागारमा कार्यरत रहेको तर अरुसँग त्यति नबोल्ने एक्लै बसिरहने र पेट दुख्ने रोगको औषधी नियमित सेवन गरिरहेका थिए ।
गिरीले पोष्टमार्टमपछि परिवारजनलाई शव जिम्ममा लगाउने बताए ।