अमेरिकामा छुर्पीको माग बढेपछि दूधको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७१ असोज १९ गते ६:०९ मा प्रकाशित

इलाम, १९ असोज दूध प्रशोधनबाट बनाइने छुर्पी अमेरिका निर्यात हुन थालेपछि इलामका दूध उत्पादन गर्ने किसानले राम्रो मूल्य पाएका छन् ।
milkस्थानीय बजारमा प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको छुर्पी अमेरिका निर्यात हुन थालेपछि प्रतिकिलो पाँच सय रुपैयाँसम्म किसानले मूल्य पाउन थालेका हुन् ।

इलामलगायत पाँचथर, ताप्लेजुङ, धनकुटाबाट वाषिर्क १२ करोडभन्दा बढीको छुर्पी अमेरिका निर्यात भएको छ । अन्य जिल्लाबाटभन्दा इलामबाट बढी छुर्पी निर्यात हुन्छ ।
‘नेपालमा उत्पादित छुर्पी अमेरिकामा कुकुरका लागि उपयुक्त आहार हुँदोरहेछ, त्यही भएर अमेरिका निर्यात बढेको हो’, छुर्पी सङ्कलक रूपनारायण दाहालले भने ।

काठमाडौंको मनराम हिमालय एन्डिग्राफमार्फत अमेरिकामा रहेको हिमालयन डग क्यू कम्पनीमा छुर्पी जाने गरेको दाहालले बताए । अहिले पूर्वका छरसात जिल्लाबाट वाषिर्क दुई लाख ५० हजार किलो छुर्पी अमेरिका निर्यात हुने गरेको छ । ‘मागअनुसार पुर्याउन सकिएको छैन’, दाहालले भने(‘वाषिर्क रूपमा छ लाख किलोभन्दा धेरै माग छ ।’

अमेरिका निर्यात हुन थालेपछि इलामका उत्तरी मावु, माईमझुवा, माईपोखरी, सुलुबुङ, जमुना, सुम्वेक, पुवामझुवा गाविसमा बाक्लै रूपमा डेरी उद्योग स्थापना भएका छन् । किसानले गाई पालेर दूध उत्पादन गरी छुर्पी बनाउँदै आएका छन् ।

किसानबाट प्रतिकिलो तीन सय २० रुपैयाँमा छुर्पी किन्न थालिएका जमुनाका मनोज भट्टराईले भने । पूर्वका दुई सयभन्दा बढी डेरी उद्योग र लेकाली क्षेत्रका चौँरी गोठबाट कम्पनीले छुर्पी सङ्कलन गर्न थालेको छ ।
पशुसेवा कार्यालय इलामका अनुसार जिल्लामा हालसम्ममा १ सय १२ वटा डेरी उद्योग स्थापना भएका छन् । उद्योगले दैनिक ५० देखि पाँचसय लिटरसम्म दूध प्रशोधन गर्ने गरेको पशु विकास अधिकृत ध्रुवकुमार यादवले जानकारी दिए ।

डेरी उद्योगमा प्रशोधित दूध प्रतिलिटर १० देखि २० रुपैयाँमामात्र किसानले डेरी सञ्चालकलाई बिक्री गर्दै आएका छन् । प्रशोधित दूधबाट डेरी सञ्चालकले छुर्पी बनाउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us