तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा

काठमाण्डु टुडे २०७१ असोज १६ गते ७:५५ मा प्रकाशित

पर्वत, ६ असोज- जिल्ला विकास समिति पर्वतले  तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ ।

जिविसले तीन करोड १८ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको हो । रकम ढिलो निकासा भएकाले धेरै गाविसका सचिवलाई भत्ता वितरण गर्न भने समस्या भएको छ ।

जिविसले ४७ गाविस र कुस्मा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सबै गाविस र नगरपालिकाको खातामा रकम निकासा गरिसकेको स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरले जानकारी दिए ।

जिल्लामा एक महिनासम्म स्थानीय विकास अधिकारी नभएकाले रकम निकासा गर्न ढिलाइ भएको थियो । नयाँ स्थानीय विकास अधिकारी आएपछि दसअगावै सामाजिक सुरक्षा भत्ता वितरण गरी वृद्ध, असहाय र एकल महिलाले दसैं मनाउने वातावरण बनाउनका लागि जति सक्दो छिटो रकम निकासा गरिएको स्थानीय विकास अधिकारी कुँवरले बताए ।

जिविसले आइतबार नै सबै गाविसलाई रकम निकासा दिएको छ । केही गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् भने केही सचिवले भने खाता परिर्वतन गर्न र ठूलो क्षेत्र हुँदा सबैलाई हातमा पुर्‍याउन कठिन भएकाले दसैंपछि वितरण गर्ने योजना बनाएका छन् ।

जिल्लामा यस वर्ष छ हजार ७ सय ५५ जना ज्येष्ठ नागरिक, दुई हजार ८ सय ९७ जना ६० वर्ष माथिका असहाय एकल महिला, दुई हजार ७ सय ५३ जना ६० वर्षभन्दा तलका विधुवा, तीन हजार १ सय ८ जना दलित, १ सय ८७ जना पूर्ण अपाङ्ग र ७३ जना आंशिक अपाङ्गले सामाजिक सुरक्षा भत्ता पाउने जिविसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us