व्यावसायिक खेती गर्नेलाई सरकारले जग्गा दिने
काठमाण्डु टुडे
२०७१ असोज १४ गते ११:२३ मा प्रकाशित
चितवन, १४ असाेज – नेपाल सरकारले यो वर्षबाट व्यावसायिक रूपमा खेती गर्न चाहने किसानलाई आवश्यक पर्ने जग्गाको भाडा उपलब्ध गराउने भएको छ।
कृषिमन्त्री हरि पराजुलीले यो वर्षबाट उक्त कार्यक्रम लागू हुने बताए।आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पराजुलीले यस्तो व्यवस्थाका लागि आवश्यक तयारी भएको र छिट्टै सार्वजनिक सूचना जारी हुने जानकारी दिए। यसका लागि सरकारले तीन करोड रुपैँया छुट्याएको उनले बताए।
किसानले जग्गाभाडा लिँदा सरकारले भाडा रकम दिने त छँदै छ, उनीहरूले गर्न चाहेको खेतीका लागि सिडमनीका रूपमा ३२ हजारदेखि एक लाखसम्म अनुदानको समेत व्यवस्था गरेको छ।
‘अहिलेसम्म नेपालमा निर्वाहमुखी कृषि प्रणाली छ, यसलाई विस्थापित गरेर व्यवसायमुखी कृषि प्रणाली ल्याउनु आवश्यक छ,’ मन्त्री पराजुलीले भने, ‘त्यसतर्फ सरकार गम्भीर बनेको छ ।’
सरकारले जग्गा भाडासहित सीमान्तकृत समुदायको आयआर्जन विकासका लागि तीन करोड, युवा लक्षित कार्यक्रमअन्तर्गत कृषि अनुदानका लागि ९७ करोड र ब्याज मिनाहाका लागि एक अर्ब बजेट छुट्याएको समेत उनले जानकारी दिए।
उनले यसवर्ष विदेशिन खोजेका र विदेशबाट फर्किएका तथा कृषिमा व्यवसायीकरण गर्न खोज्ने युवामध्ये १० हजारलाई स्वरोजगार बनाउने मन्त्रालयको लक्ष्य रहेको समेत उनले बताए।