दसैं पहिला बालबालिकाको चाड, अहिले व्यापारीको चाड

काठमाण्डु टुडे २०७१ असोज १३ गते ५:५१ मा प्रकाशित

पृष्ठभूमि
aahutiमानव समाजमा अहिले जति पनि चाडपर्वहरु मनाउने गरिएको छ, ती अधिकांश चाड कृषि युगबाट मनाउन सुरु भएको देखिन्छ ।
जब मानिस ढुगे युगबाट कृषिको युगमा प्रवेश गर्‍यो, त्यसपछि दुईवटा समय उसका लागि महत्वपूर्ण समय हुन गयो । पहिलो बाली लगाउने र दोश्रो बाली भित्र्याउने । ती दुवै समयलाई मानिसहरुले उत्सवका रुपमा मनाउने गरेका थिए । संसारका मुख्यमुख्य चाडहरुबारे अध्ययन गर्दा तिनीहरु बाली लगाउने र भित्र्याउने कुरासँग सम्बन्धित रहेको पाइन्छ । नेपाली समाजमा दसैं मनाउने प्रचलन पनि बाली भित्र्याएपछिको उत्सव मनाउने प्रक्रियासँग सम्बन्धित रहेको देखिन्छ । यसलाई पहिला चैत महिनामा मनाइन्थ्यो ।, पछि असोजमा सारियो । मंसिरमा बाली भित्र्याउने र गहुँ छर्ने काम हुन्छ । त्यसपछि जाडो महिना आउने भएकाले चाडपर्वका लागि त्यत्ति उपयुक्त भएन, त्यसैले गर्मी याम सुरु भएपछि फागुन या चैतमा दसैं मनाएको पाइन्छ । बाली लगाउने र भित्र्याउने कुरासँग सम्बन्धित पर्वहरुको समय लामो हुने गरेको देखिन्छ । जब मानिस कबिलामा बस्थ्यो त्यतिखेर सामूहिकता थियो । बाली लगाउँदा वा भित्र्याउँदा पहिला एउटा अनि अर्काको गर्दै सबैको काम गरिन्थ्यो । महिनौंसम्म बाली लगाउने र  महिनौंसम्म बाली भित्र्याउने गरिनथ्यो । त्यो बेलामा हरेक दिन भोजभतेर र रमझम हुन्थ्यो । नेपालमा विक्रम सम्वत २०२० साल आसपासको समयसम्म माझी समुदायमा त्यस्तो प्रचलन थियो । सिंगो गाउँ नै मिलेर सबैको बाली लगाउने र सबैको भित्र्याउने काम हुन्थ्यो । बाली लगाउँदा र भित्र्याउँदा भोज चल्थ्यो र गाउँ नै उत्सवमय हुन्थ्यो ।
चाड पर्वलाई धर्मसँग जोडियो
कृषि सभ्यतासँग सम्बन्धित चाडपर्वलाई पछि हिन्दू धर्म र हिन्दू कर्मसँग जोडियो । दसैं पनि त्यस्तै चाड हो, जसलाई हिन्दू धर्मको अभिन्न अंगजस्तो बनाइएको छ । खेतीपाती लगाउने र भित्र्याउने प्रक्रियाबाट सुरु भएको दसैंमा कतै नवदुर्गाको कथा र कतै रामायणको रावण बधको कथा जोडिँदै गयो । दसैंलाई अति हिन्दूकरण गरियो । अहिले दसैं जुन बिन्दुमा आइपुको छ, यसले विशुद्ध धार्मिक रुप लिइसकेको छ । नेपाल र भारतमा अझ खास गरी नेपालमा टीकाटालो समेत गरेर दसैं मनाइन्छ । टीकाको परम्परा पनि हिन्दू धर्मसँगै जोडिएको छ । विगतमा शासकहरुले धर्मका माध्मयद्वारा हिन्दू समाजको तहगत संरचना व्यवस्थित गर्ने काम गरे ।
कतिपय मानिसहरु दसैंले सामाजिक रुपमा मानिसहरुलाई आपसमा जोड्छ भन्ने तर्क गर्छन् । त्यो कुरा ठीकै हो । लामो समयसम्म भेटघाट नभएका नातेदार, विदेश गएका वा घर छाडेर टाढा पुगेकाहरुलाई एकै ठाउँमा ल्याउन र सामाजिक सम्बन्ध बढाउन मद्धत पुग्छ भन्ने स्थापित भएको छ । यो दसैंले मात्र होइन, सबै पर्वले गराउँछ ।
हेरक पर्वलाई समाजलाई विज्ञानतिर लाने वा रुढीवादतिरै फर्काउने भन्ने कुरासँग जोडेर हेर्नुपर्छ । दसैंजस्ता पर्वहरुले नेपालीहरुको जीवनलाइ ठीक दिशातिर लगिरहेको छैन । पहिलो कुरा दसैंजस्ता चाडले धार्मिक अन्धतालाई निरन्तरता दिन्छ । कतिपयले दसैंको सामाजिक पक्षको चर्चा गर्ने गरेको भए पनि यसमा धार्मिक पक्ष नै हाबी छ । नौ दिनसम्म दुर्गापाठ गर्ने, कालरात्री पूजा गर्ने, जमरा राख्ने र पशु बली चढाउने काम हुन्छ । यो धार्मिक पक्ष हो । यस्ता कुराले नयाँ पुस्तालाई पनि बलजफ्ती प्रशिक्षत गर्दै लगेको छ । यस्ता कुराले मानिसको जीवनलाई केही फाइदा पुर्‍याउँदैन ।
तागाधारी, पुरुष र ठालुबाहेक अरु कमसल
टीकाको परम्पराले नेपालका तागाधारी, पुरुष र ठालुहरुबाहेक अरुलाई कमसल मान्छेका रुपमा स्थापित गरेको छ । श्रीमानले श्रीमतीलाई टीका लगाइदिन्छ । तर, श्रीमतीले श्रीमानलाई टीका लगाउन मिल्दैन । यसको अर्थ श्रीमान बलियो र ठूलो हो, श्रीमती कमजोर र सानो हो भनेर स्वीकार गर्नु हो । घरमा बाबु छैनन् भने मात्र आमाले छोराछोरीलाई टीका लगाउन पाउँछिन् ।
यस्तै कथित माथिल्लो जातका मानिसबाट मात्र तल्लो जातिले टीका लगाउनुपर्छ । तागाधारी परिवारमा जन्मिएको १० वर्षको फुच्चेले ७० वर्षको जनजाति वा दलितलाई टीका लगाएर आशिर्वाद दिन्छ । तर ७० वर्षको जनजाति वा दलितले तागाधारी परिवारको १० वर्षको केटालाई टीका लगाइदिन मिल्दैन । किन भने ऊ ठूलो हो । दसैं भनेको जातको ठूलो, शक्तिको ठूलो र लिंगको ठूलो देखाउने पर्व हो । मानिस ज्ञान वा कर्मबाट होइन, निश्चित वर्ग, जात वा लिंगलाई ठूलो मानेर अरुलाई सानो मान्नुपर्ने अवस्था छ । मानिस जात, शक्ति वा लिंगका आधारमा ठूलो हुने होइन । मानिसलाई ठूलो मान्ने केही आधारहरु हुन सक्छन् । जस्तै उमेर, ज्ञान, वौद्धिकता वा कर्म । मानिस ठूलो या सानो मापन गर्ने आधार भनेको जात वा लिंग हुँदैन ।
दसैंमा टीका लगाउने जुन परम्परा छ, त्यसले हिन्दू समाजको तहगत संरचना कायम राख्दै  लिंग, जात र शक्तिका आधारमा गाउँको मुखिया, देशको राजा वा अहिलेका राष्ट्रपतिको हातबाट टीका लगाउने परम्पराको विकास गरिएको छ । हिन्दू समाजमा जुन जात, लिंग र पहुँचमा आधारित तहगत संरचना  छ आधुनिक पुस्तालाई पनि त्यसैलाई स्वीकार गर्न बाध्य पार्ने काम हुँदैछ । यो मुलुकको भविष्यका निम्ति घातक छ ।
मनाउनेलाई घृणा नगरौं
समाजको मनोविज्ञान यस्तो भइसक्यो कि जति कुरा गरे पनि तत्काल दसैंको पूरै प्रगतिशील रुपान्तरण सम्भव छैन । मुख्य कुरा यसलाई कसरी मनाउने भन्ने हो । कतिपय मानिसले विद्वेसका आधारमा यसको बहिस्कार गर्छन् र अरुलाई नमान्न दबाब दिने गर्छन् । त्यो ठीक तरिका होइन । समाजमा लामो समयदेखि मानिंदै आएको चाडपर्वका बारेमा द्वैस राख्नु हुँदैन । द्वैसले मानिसको समाजिक मनोविज्ञानमा परिवर्तन ल्याउँदैन । त्यसका बेठीक कुराहरुका बारेमा सैद्धान्तिक, वैचारिक र व्यवहारिक बहस चलाउनुपर्छ । मानिसका भावनामा चोट पुर्‍याउने गरी छलफल चलाउन र व्यवहार गर्नु हुँदैन । आफू नमनाउन सकिन्छ, तर मनाउनेमाथि द्वैसको भावना राख्नु हुँदैन ।
यसरी मनाउन सकिन्छ दसैं
पहिलो धार्मिक अन्धता र समाजको जातजन्य र लिंगजन्य तहगत संरचनालाई संरक्षण गरेर
दीर्घजिवी बनाउने दसैंको उद्देश्य हो भन्ने बुझेका र प्रगतिशील चेतनामा उठेकाहरुले मनाउन छाड्नुपर्छ । त्यो भनेको बली नदिने, जमरा नराख्ने र टीकाको परम्परा छाड्ने हो । दोश्रो त्यो पनि सकिन्न भने जसले जसलाई पनि टीका लगाएर सदभाव बाँड्ने परम्परा बसाल्नुपर्छ । जसरी खादा जसले जसलाई पनि लगाउन मिल्छ । धार्मिक अनुष्ठानजति सबै कटाएर बाबुले छोरालाई, श्रीमतीले श्रीमानलाई, दलित वा जनजातिले बाहुनलाई पनि लगाउन मिल्ने प्रचलन विकास गर्नु राम्रो हुन्छ । त्यसो भएमा दसैं समानतामा आधारित हुन्छ । दसैंलाई खान पिन वा भेटघाट मात्र गर्ने परम्परामा मात्र सीमित गर्न पनि सकिन्छ ।
तेश्रो विकल्प जो मानिस धार्मिक अनुष्ठानलाई पनि कायमै राख्नुपर्छ भन्ने ठान्दछन्, उनीहरुका लागि छोटो समयमा दसैं मनाउन परम्परा बसाल्न सकिन्छ ।
चौथो दसैंमा हुने खर्चलाई किफायती बनाउनेतिर चोच्नुपर्छ । किनभने हरेक चाडपर्व अर्थराजनीतिक भइसक्यो । पहिलापहिला चाडपर्वमा बालबालिका खुसी हुन्थे । अहिले व्यापारी खुसी हुनेबेला आएको छ । चाडपर्वलाई व्यापारीहरुले कमाउने मौकाका रुपमा उपयोग गर्न थालेका हुन् । उनीहरुले यो मौकामा जनतामा उपभोक्तावादको संस्कृति थोपर्ने गरेका छन् । उपभोक्तावादी संस्कृतिले मानिसमा घरमै भएको वस्तु पनि किन्नै पर्ने मनोविज्ञान हाबी बनाइदिएको छ । दसैं आउन तीन महिनाअघिदेखि नै पैसा जम्मा गर्नुपर्ने अवस्था छ ।
पाचौं कुरा दसैंको समयमा जुन लामो बिदा दिने गरिएको छ, त्यो कटौती हुनुपर्छ । सरकारकै तर्फबाट दिइने लामो औपचारिक बिदाले दसैंमा तामझाम घट्नेवाला छैन । बरु यो बढेर जान्छ । आठ/नौ दिनसम्म बिदा दिएपछि मानिस त्यसै पनि ‘रिल्याक्स’ गार्नतिर जान्छ । त्यो समयमा मनोरञ्जनका नाममा जुवातास र रक्सीमा मानिसहरु भुल्ने गरेका छन् । यसले मानिसको स्वास्थ्य बिगार्छ र धनको खर्च बढाउँछ ।
राज्यको कुनै पर्व हुँदैन
धर्म निरपेक्ष भन्ने तर एउटा जात र वर्ग विशेषको चाडलाई राज्यले नै बढी महत्व दिने कुरा ठीक होइन । राज्यले कुनै पनि चाडलाई विशेष संरक्षण दिनु हुँदैन । तर, सरकारी तवरबाटै दसैंजस्ता चाडलाई विशेष महत्व दिइएको छ । एउटा मुसलमान कर्मचारीलाई १० दिनसम्म बिदा र दसैं पेश्की दिइन्छ । उसले त्यो पैसा केमा खर्च गर्छ र त्यो समय के गरेर कटाउँछ ? सरकारी कार्यालय, स्कुलm क्याम्पस मात्र होइन यातायात र बजारसमेत सबै ठप्प हुन्छ । दसैं नमान्ने समुदायका लागि के त्यो एकप्रकारको यातना होइन ? उनीहरु त्यो बीचमा कहाँ जाने, के गर्ने र के खाने ?
धर्मनिरपेक्ष राज्य भन्ने र तर खास समुदायको पर्वलाई सुविधा दिने र अरुलाई अपमान गर्ने जुन काम भइरहको छ, त्यो धर्मनिरपेक्षताको भावनाअनुसार छैन । लामो बिदा र पेश्कीलगायतको विशेष सुविधा कटौती गरेर राज्य यसबाट अलग हुने र जनसमुदायको चाड बनाउनेतरि छुट दिनुपर्छ । राज्यको कुनै धर्म र चाड हुँदैन ।
(कुराकानीमा आधारित)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us