केपीले मसँग भन्नुभयो तपाईंलाई मन्त्रीबाट हटाएर ठूलो गल्ती गरेँ

काठमाण्डु टुडे २०७१ असोज ६ गते ५:५७ मा प्रकाशित

karna-thapa-1024x752

कर्णबहादुर थापा, पूर्वउद्योगमन्त्री –

तपाईं उद्योगमन्त्रीबाट कसरी हटाइनुभयो ? हटाइँदै छु भन्ने कुनै पूर्वजानकारी वा पूर्वाभाष थियो, थिएन ?
म मन्त्रालयको काम खुरुखुरु गर्दै थिएँ । त्यो दिन पनि म दिउँसो संविधानसभामा पसेको थिएँ । नेताहरूसँग पनि भेट भयो । केपी कमरेडसँग भेट भयो, विद्या भण्डारी, विष्णु पौडेलसँग पनि त्यहीँ भेट भएको थियो । विद्या भण्डारी र विष्णु पौडेलले त मन्त्रालयसँग सम्बन्धित काम अराउँदै हुनुहुन्थ्यो । त्यहीवेला नै मलाई एक ढंगले हटाइसकिएको रहेछ । कसैले भन्दा पनि भनेन । परिकल्पनाभन्दा बाहिरको विषय भयो ।

अध्यक्षले बोलाएर केही संकेतसम्म गर्नुभएको थियो कि ?
केही पनि गर्नुभएन । संकेत गर्ने विषय भए पो गर्नु, केही विषय नै थिएन । कामका बारेमा प्रत्येक शुक्रबार मन्त्रीहरूलाई भेट्ने भन्ने थियो । एकपटक त्यसरी भेट भयो, दुईपटक नेताहरूले नै आज भएन भन्नुभयो । त्यसअगाडि अधिकांश समय बिमारी भएर उहाँ नै बाहिर हुनुभयो । फेरि महाधिवेशनको चटारोमा हामी सबै लाग्यौँ । कुनै प्रसंग वा कुनै कुरै भएको थिएन । भीमजीको केसमा के थियो मलाई थाहा छैन । तर, मलाई यस्तो वेलामा यसरी हटाइयो, मानौँ तत्काल हटाइएन भने मुलुक, पार्टीलाई गम्भीर क्षति हुन्छ । त्यो प्रकृतिको काम मबाट भएको नै छैन ।

तपाईंको अन्तरमनमा त अहिले लागिरहेको होला नि, मलाई यस कारणले हटाइएको रहेछ भन्ने । त्यस्तो 
के पाउनुभयो ?
पाएकै छैन । मलाई चिन्ताको विषय नै त्यही छ । के कारण होला भनेर आफ्नै मनलाई भन्न सकेको छैन । मनलाई भन्ने कुरै छैन । राम्रो गर्दा पनि मान्छेहरू यस्तो षड्यन्त्र गर्दा रहेछन् । आश्चर्य लागेको छ ।

षड्यन्त्र त भएको रहेछ नि । षड्यन्त्रचाहिँ कसले गरेको रहेछ त ?
षड्यन्त्रको एउटा पाटो त के छ भने म मन्त्री भएकै दिनदेखि पार्टीभित्रको एउटा पंक्ति मलाई जुनियर ठान्थ्यो । तर, त्यसमा मेरो के गल्ती ?

को थियो त त्यो ?
त्यही त प्रकट नभएरै मैले षड्यन्त्र भनेको । प्रकट भएको भए त यसले हटायो भन्थेँ नि । प्रकट नभएकैले मैले षड्यन्त्र भनेको ।

अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर भन्नुभएन ? उहाँ के भन्नुहुन्छ ?
अध्यक्षले मलाई निर्णय भइसकेपछि जानकारी गराउनुभयो । तपाईंले हट्नुपर्ने भयो भन्नुभयो ।

सोध्नुभएन त किन हट्नुपर्ने भनेर ?
सोधेँ, तर कारण भन्नुभएन । ‘तपाईंका बारे त केही पनि गुनासो छैन, तर भीम आचार्यका बारेमा गम्भीर समस्या आयो, हटाउनुपर्ने भयो भन्नुभयो । झलनाथले नै हटाउनु भन्नुभयो । कहिले हटाउने, कहिले हटाउने भन्ने भएको थियो । नहटाई भएन भनेर उहाँले ताकेता गर्नुभयो । पहिले केही पनि प्रसंग उठेको थिएन । हटाउँदा मलाई पनि समस्या पर्ने भयो । तपाईंको पनि एउटा मान्छे हटाउनुपर्ने भयो भन्ने कुरा आयो । मैले हटाउने मेरो नजिककोलाई नै हो । त्यसैले तपाईंलाई नै हटाउनुपर्ने भयो । गम्भीर ढंगले सोच्नै भ्याइएन । मैले भनेपछि तपाईंले मानिहाल्नुहुन्छ भनेर हटाएँ’ भन्नुभयो ।

तपाईंले के भन्नुभयो त ?
मैले ‘यो पार्टीका लागि, तपाईंकै लागि र मेरो राजनीतिक भविष्यका लागि पनि गम्भीर नोक्सानी हुन्छ भनेर भनेँ । मलाई हिजो–अस्ति नै भन्नुभएको भए म राजीनामा गर्दिन्थेँ नि । मैले त काम गर्न खोजेको थिएँ । मलाई हिजो जिम्मा दिनुभयो । मलाई त्यसवेला उद्योग मन्त्रालयबारे केही जानकारी थिएन, अहिले यो मन्त्रालय बुझेँ । योजना बनाएँ । एकै दिनमा परिणाम आउने थिएन । केही समयपछि परिणाम पनि आउने अवस्था थियो । नेपालका उद्योगहरू चलाउने मेरो दायित्व थियो । म त्यो गर्दै थिएँ । अनि परिणाम आउने वेलामा तपार्इंहरू यस्तो भन्नुहुन्छ । मलाई किन बनाउनुभयो त ? मैले मेरो काम पूरा गरेँ कि गरिनँ पहिले त्यो भन्नुपथ्र्याे । किन मलाई अपमानित गरेर हटाउनुभयो,’ भनेँ ।

उहाँले के भन्नुभयो ?
उहाँसँग जवाफै छैन नि । मसँग यो कुरा हुँदा उहाँले प्रधानमन्त्रीकहाँ पठाइसक्नुभएको रहेछ । राष्ट्रपतिबाट टुंगो लागेर बाहिर आउँदै थियो । उहाँले जे भए पनि मान्नुहोस् भन्नुभयो । ‘तपाईंको कुरा सुन्दा त गल्ती भएछ भन्ने लाग्यो’ पनि भन्नुभयो । तर, निर्णय गरेर गल्ती गरिएछ भन्नुको पनि कुनै अर्थ हुने थिएन ।

अध्यक्षले त तपाईंहरूको समय संविधानसभा र पार्टीमा केन्द्रित गर्न फिर्ता गरेको, उहाँहरू नै फिर्ता हुन खोजिरहनुभएको थियो, राजीनामा दिने कुरा गर्नुभएको थियो भन्नुभएको छ त ?
पार्टीले पठाएको मान्छे पार्टीले फिर्ता बोलाउन खोजेपछि राजीनामा दिन्छु भन्ने कुरा त स्वाभाविकै हो नि । तर, मैले हट्न खोजेको भन्ने कुरा होइन ।

कामचाहिँ तपाईं के गर्दै हुनुहुन्थ्यो ?
मैले बन्द भएका औद्योगिक क्षेत्रहरू खोल्ने, पाँचवटा उद्योग सञ्चालन गर्ने भनेर काम अघि बढाएको थिएँ । नेपाल औषधि लिमिटेडको निर्णय गराएँ । कार्यान्वयन गर्न मात्र बाँकी छ । वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, नेपाल मेटल उद्योग, नेपाल ओरेन्ट मेग्नासाइट चलाउने तयारी भएको छ । बुटवल धागो कारखानाबारे छलफल भइराखेको थियो । हैटौँडा कपडा कारखाना चलाउन मैले चरण–चरणका छलफल गरेँ । औद्योगिक क्षेत्र र्‍यान्डमली चलेका थिए, पहिलोपल्ट मैले त्यसको नियमावली बनाएँ । उद्योग क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न बन्द–हडताललाई कानुनी रूपमा प्रतिबन्ध लगाउने गरी औद्योगिक व्यवसाय ऐनलाई उच्च प्राथमिकतामा राखेँ । सिमेन्टको खानी कब्जा गर्ने, तर सञ्चालन नगर्ने पवृत्ति बढिरहेका वेला मैले त्यो रोक्ने काम अघि बढाएँ । काम नगर्ने मदिरा उद्योगका २७ वटा लाइसेन्स बदर गरेँ । म प्रचारमा लागिनँ, काम खुरुखुरु गरेँ ।

बन्द उद्योग सञ्चालनका लागि ऋण मिनाहा गरी कमिसन खाने, आफू पनि धेरै विदेश भ्रमण जाने र अरूलाई पनि पठाउने गरिरहनुभएको थियो भन्ने आरोप छ त तपाईंमाथि ?
यो अत्यन्त निराधार, गलत, तथ्यहीन, पूर्वाग्रही र निकृष्ट आरोप हो । मन्त्री विदेश जाँदा मन्त्रिपरिषद्को निर्णयले मात्रै जान्छ । आफ्नो मन्त्रालयबाट त प्रस्ताव मात्रै जाने हो । मकहाँ धेरै विदेश गएँ ? अमेरिका, टर्की त हो । टर्की पनि त्यहाँको सरकारको निमन्त्रणामा गएको थिएँ । अमेरिकामा बस्ने नेपालीहरूको कार्यक्रम हो । नेपालमा हस्तनिर्मित सामानहरूलाई प्रोमोट गर्ने कार्यक्रम थियो । मेरो मन्त्रालयसँग सम्बन्धित कार्यक्रम भएकाले गएँ । एकपटक भारतको मुम्बई गएँ । जम्मा तीनवटा कार्यक्रममा गएँ । रेकर्ड हेरे हुन्छ नि, मन्त्रिपरिषद्मा को कतिपटक गयो भन्ने । अनि मैले कसलाई लिएर गएँ ?

तपाईंले श्रीमती र अरू मान्छेलाई पनि लैजाने तयारी गर्नुभएको थियो रे त ?
हेर्नु नि गएर तथ्य । कसैले खोजी पत्रकारिता गर्छ भने मलाई त्यो राम्रो नै हुनेछ । अमेरिकाको कार्यक्रम नेपालीहरूले आयोजना गरेको । नेपाली प्रवासी मञ्च भन्ने संस्था छ । त्यो आयोजक संस्था हो । अर्काे प्रायोजक संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको रहेछ । त्यसका लागि नेपालका केही कलाकारलाई पनि बोलाएको रहेछ । कोमल वली, जितु नेपालले पनि अप्लाई गरेका रहेछन् । मलाई यो पाटो जानकारी छैन । उहाँहरूलाई नै सोध्नुभए हुन्थ्यो नि, कर्ण थापाले कति पैसा मागेको थियो भनेर ? जसले भिसा पाए गए, पाएनन् गएनन् । यसमा मेरो सरोकार र चासोको कुरा भएन । मन्त्रालयको तर्फबाट कसैलाई सिफारिस गर्न मिल्दैन । मैले गरिनँ । अब रह्यो मेरी श्रीमतीको कुरा । उनी म मन्त्री हुनु एक वर्षअघिदेखि नै अमेरिकाको पाँचवर्षे मल्टिपल भिसा लागिसकेकी मान्छे हुन्, उनलाई जान–आउन कुनै समस्या छैन । म पनि जाने भएपछि सरकारको खर्चमा होइन, व्यक्तिगत खर्चमा सँगै गएको हो ।

यो प्रकरणले पार्टी राजनीतिमा तपाईंको स्थानमा कुनै असर पार्दैन ?
यसले मलाई कुनै प्रभाव पार्दैन । तर, हामी जति मन्त्री छौँ ती सबैलाई कसले कति काम गर्‍यो भनेर फिर्ता बोलाइएको भए समग्रमा मूल्यांकन हुन्थ्यो । मैले अरूलाई आरोप लगाउनुहुँदैन, तर एमालेले १० जनालाई मन्त्री बनाएर पठाएको थियो, सबैभन्दा प्रभावकारी रूपमा मैले काम अघि बढाएको थिएँ । क्याबिनेटमा बहस, विवाद गर्नुपर्ने भए मेरो मुखमा हेर्थे साथीहरू । मलाई यो भन्न मन लागेको थिएन भन्नैपर्ने भयो । निकै अनुभवी मन्त्रीभन्दा मेरो पर्फमेन्स कमजोर भएन ।

प्रधानमन्त्रीसँग टसल थियो कि थिएन ?
प्रधानमन्त्रीसँग कसैको टसल भएन । उहाँ कुरै बुझ्नुहुन्न, कुनै विषय उठाएर ल यसरी जानुपर्छ भनेर कन्भिन्स पनि गर्नुहुन्न । उहाँको शैली गजबको छ । मैले अहिले त्यो कुरा भन्न हुँदैन । उहाँलाई केही मान्छेले कहिलेकाहीँ गलत ढंगले गाइड गर्थे । हामीले त्यसो होइन, यसो हो भनेर बुझाउनुपथ्र्याे । एकैछिनमा यो हुँदैन भनेर भन्नुहुन्थ्यो ।

भन्न मिल्छ ? प्रधानमन्त्रीलाई कसले गाइड गथ्र्याे ?
खै, अब क–कसले गर्थे के भन्नु । मीनेन्द्र रिजाल नै हुन् वरिपरि धेरै घुम्ने । अरू मन्त्री पनि यस्तो कुरा मन पराउँदैनथे । उहाँको शैली पनि, तरिका पनि ठीक थिएन । गाइड त कसै न कसैले गर्नैपथ्र्याे । तर, गाइडेन्स ठीक थिएन । सही सूचना नदिने, सही ढंगले चल्न प्रेरित नगर्ने, स्वार्थमा घुमाउने खालका प्रवृत्तिहरू त्यहाँ देखिन्थे । अनौपचारिक कुराकानीमा मन्त्रीहरूसँग चिन्ता पनि व्यक्त गथ्र्याैँ ।

मन्त्री भएपछि कठिनाइ के देख्नुभयो ?
९५ प्रतिशतभन्दा बढी मान्छे व्यक्तिगत काम लिएर आउने । नीतिगत काम, सामूहिक काम कसैले नल्याउने । निजी काममा मात्रै ध्यान सबैको हुने । मन्त्रालयको ध्येय उद्देश्यबारे सुझाब दिने र काम लिएर आउने एकाधबाहेक मैले कमै भेटेँ । निजी समस्याहरूको समाधान खोज्ने प्रवृत्ति बढेको छ । सिस्टमबाट समाधान खोज्ने संस्कृति बसाल्न खोजिएन । मैले कम्तीमा त्यो सीमाबाहिर जाने कोसिस गरेँ । यस्तो संस्कृतिमा कसैले केही गर्न सक्दैन । गर्लाजस्तो लागेको फलानाले पनि गरेन भन्ने मात्रै हुन्छ ।

फेरि तपाईंलाई हटाइएको प्रकरणतिरै फर्काैँ, तपाईं अध्यक्ष ओलीनिकट मानिनुहुन्थ्यो यो प्रकरणले सम्बन्धमा तलमाथि परेको छ कि छैन ?
सम्बन्धमा केही फरक पर्दैन । मैले केपी ओलीलाई २० वर्षदेखि उहाँ एक्लै भएको समयमा समेत साथ दिएको हुँ । मैले काम गर्ने भूगोलमा त्यो मान्यतालाई जिताएर आएको हो । अहिले पनि म उहाँको साथमा छु । उहाँलाई अध्यक्षमा इमानसाथ साथ दिन्छु । उहाँ पार्टीप्रमुख त भइसक्नुभयो यसमा सफल पार्नुपर्ने त छँदै छ । अब देशको प्रधानमन्त्री देख्ने मेरो चाहना छ । त्यसमा मेरो कहीँ पनि कमी हुँदैन । पार्टीको निर्णयलाई शिरोपर गर्छु । म सही मान्यता, सही नीतिको पक्षमा उभिएर यहाँसम्म आएको हुँ । म सामान्य अवस्थामा थिएँ, मन्त्री भएँ, राष्ट्रिय–अन्तर्राष्ट्रिय भूमिका खेल्ने कुरामा कमिकमजोरी भए हटाउने कोसिस गर्छु । आफूलाई हित हुने निर्णय जसले पनि मान्छ । तर, प्रतिकूल निर्णय भयो भने पनि निर्णय मान्ने र निर्णय न्यायोचित थियो कि थिएन भनेर सम्बन्धित ठाउँमा भने डिसकस गर्छु ।

भनेपछि आफूलाई हटाइएको विषयमा तपाईं सम्बन्धित ठाउँमा कुरा राख्नुहुन्छ, तर केपी ओलीलाई सहयोग पनि गर्नुहुन्छ ?
हो, केपी ओली त मेरो आदर्श नेता नै हो । मदन भण्डारीपछि सबैभन्दा धेरै भित्रैदेखि सम्मान गरेको नेता नै उहाँ हो । त्यो आस्था विश्वासमा यो प्रकरणले कमी आएको छैन । मेरो प्रतिकूल निर्णय भयो भनेर उहाँले जीवनभर गरेको योगदान र वकालतलाई बिर्सने कुरा त आउँदैन । केपी ओलीसँगको सम्बन्ध स्वार्थमा आधारित सम्बन्ध होइन । समग्र राजनीतिक चेतनाका आधारमा विश्लेषण गरेर निर्माण भएको सम्बन्ध हो । एउटा निर्णयले मेरो कुरामा फेरबदल आउँदैन । अरू नेताहरूलाई पनि मेरो सम्मान छ, आदर छ । माधव नेपाल, झलनाथ खनाल उहाँहरूले योगदान नगरेको भए पार्टी यो ठाउँमा आउँदैनथ्यो ।

मन्त्रीबाट हटेपछि तपाईंको केपी ओलीसँग भेट भएको छ ?
भेट भएको छ । भेट हुँदाखेरि उहाँले जीवनमा धेरै पश्चाताप हुने गरी निर्णय गरेँ भन्नुभयो । राम्ररी छलफल गर्ने गरी भेट हुन बाँकी छ । उहाँले निराश नहुने गरी काम गर्नुहोस् भन्नुभएको छ ।

प्रस्तुति : रामशरण बजगाईं, नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us