
यो हप्ता दुई माओवादीहरुको चितवनको कार्यालयको विषय मिडियाका लागि खुराक बन्यो । खासगरी फेसबुक लगायत सामाजिक सञ्जाल यो अभियानमा जोडिए । आमजनता र इतर पार्टीका नेता तथा कार्यकर्ताको भन्दा पनि माओवादी नेता तथा कार्यकर्ताहरुलाई बहसका लागि राम्रै मसला मिल्यो ।
बहसको सुरुवात माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा विरही र एमाओवादीका चितवन जिल्ला सदस्य तथा बाबुराम भट्ठराई पक्षीय समानान्तर जिल्ला संयोजक अमरबीच दुई माओवादीको स्वामित्व रहेको कार्यालय बेच्न लागेकोले त्यसको रक्षा गर्नुपर्छ भनेर वक्तव्य जारी भयो । एमाओवादीको जिल्ला कार्यालयले यो विषय काल्पनिक रहेको र कार्यालय बेच्ने कुरै नभएको सार्वजनिक रुपमा वक्तव्य आयो । माओवादीको कुनै निकायमा पनि चर्चा समेत नभएको त अनिल शर्मा विरहीको पछिल्लो अन्तर्वार्ता र लेखले पनि प्रमाणित गरिसकेको छ ।
१. कार्यालय बेच्ने को हो र किन्ने को हो भन्ने प्रमाणित नभएकाले यो विवाद कार्यालयको विषयमा नभएको प्रष्ट बुझ्न सकिन्छ ।
२. चितवन जिल्लाका इञ्चार्ज पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गुणराज लोहनी हुन । र, उनी नभएको बेलामा कार्यालय बेच्ने चर्चा चलेकाले आफूले त्यसको रक्षार्थ वक्तव्य दिएको आसयको कुरा अनिलले सार्वजनिक गरेका छन् । अनिल शर्माको कार्यक्षेत्र चितवन होइन र उनी त्यो क्षेत्रमा खटिएका होइनन् । पूर्ण केन्द्रीय सदस्य अनिल शर्माले चितवनको कार्यवाहक इञ्चार्ज जसरी वक्तव्य दिनु प्रक्रियाका हिसावले पनि गल्ती गरे ।
३. यो मुलतः राजनीतिक विवाद नै हो । दुवै माओवादीका अल्पमत पक्षले संस्थापन पक्षसँग लड्ने व्यावहारिक मोर्चाबन्दी चितवनबाट प्रारम्भ गरे । एमाओवादी अध्यक्ष प्रचण्ड र माओवादी महासचिव वादलको गृहजिल्ला भएकाले यहाँबाट अल्पमत पक्षको यस्तो सहकार्य निकै अर्थपूर्ण छ ।
काल्पनिक विषयवस्तु र प्रक्रिया उल्लंघन गरेर अनिल शर्माले गरेको कामकार्वाहीका कारण कार्यालयबाट उनलाई निलम्बन गरेकोमा विप्लवले हत्त न पत्त सार्वजनिक रुपमा असहमति जाहेर गर्नुले विप्लव र बाबुरामको सहकार्य प्रचण्ड–वादलको गृहजिल्लाबाट नै योजनाबद्ध रुपमा प्रारम्भ गरेको त होइन ? आशङ्का गर्नेहरुलाई बलियो आधार दिएको छ ।
रातो झिल्कोबाट