
सधैं झैं खाना खाएर बिहीबार पनि पत्रिकाको कार्यालय पुगेको थिएँ । बुधबार पत्रिका बजारमा पठाएकाले बिहीबार खासै काम हुँदैन । साथीभाई भेटघाट र कुराकानीमा सहजता हुने भएकाले बिहीबार पनि म कार्यालय जाने गर्छु । म पुगेको आधा घण्टाजति भएको थियो । ल्याण्डलाइन फोनमा घण्टी बज्यो, फोन उठाएँ । उताबाट तोतो बोली भएको मान्छेको बोली तोते थियो । मैले फोनको रिसिभर उठाएपछि उनले एहोकोरो आमाचकारी गाली गरिरहे । मैले केहीबेर सुनें । उनले आफू प्रधानमन्त्री सुशील कोइरालाका भाई अरुण कोइराला बोलेको भन्दै कुरा सुरु गरे । बोल्दै गए । स्तरहीन र तल्लोस्तरका शब्दहरु प्रयोग गरेर आमाचकारी गाली गरे । मैले तँलाई जानेको छु । म को हुँ तँलाई थाहा छ ? मैले चाहें भने तँलाई जे पनि गर्न सक्छु । उनी बोल्दै गए । इराकमा अमेरिकी पत्रकारलाई मारेको छाहा छ कि छैन ? उनले सोधे र मैले जवाफ दिन नपाउँदै फेरि बोले त्यस्तै होलास्, ख्याल राख ।
उनका कुरा सुनेपछि मेरो पनि कन्सिरीका रौं तात्यो । मैले भनें तिमि आफूलाई प्रजातान्त्रिक विचारधाराका प्रवक्ता दाबी गर्छौ । तर पत्रिकामा आएको समाचारको विषयलाई लिएर काट्ने मार्ने कुरा गर्छौ, धम्की दिन्छौं । विधिका शासन र प्रेस स्वतन्त्रता तिमिहरुले गाउने गीत हो । तर बाहिर प्रेस स्वतन्त्रताका कुरा गरेर भित्र यस्तो संस्कारहीन व्यवहार किन देखाउँछौं ? पत्रिकामा गलत समाचार लेखिएको रहेछ भने ध्यानाकर्षण गराएको भए हुन्थ्यो । वा त्यो पनि नभए कानुनी उपचारको बाटो अबलम्बन गरेको भए हुन्थ्यो । तर शक्ति र सत्ताको मात सवार भएका कारण उनले थर्काउनु नै उपयुक्त ठाने र त्यही गरे । मैले उनलाई प्रतिवाद गरें कि के म तिम्रो घरमा बसेको हरुवा चरुवा हो ? तिम्रो खेत खन्ने खेताला हो ? तिम्रो स्कुलबाट पत्रकारिता पढेको हो ? आफूलाई मुलुककै जेठो प्रजातान्त्रिक शक्ति भएको दाबी गर्छौ, तर के प्रेससँग डिल गर्ने तरिका यही हो ? प्रधानमन्त्री भएका तिम्रा दाजु सुशीलले यसै गरी प्रेसका मान्छेलाई थर्काउनुपर्छ भनेर सिकाएका छन् ? करिब ९/१० मिनेटजति दोहोरो भनाभन भयो । मैले उनलाई तिमिले सकेको गर । म मेरो हैसियतले सकेको गर्छु भनें । मैले उनलाई भनें कि तिमी खुरुक्क फोन राख्छौ कि राख्दैनौं । मैले बेस्सरी झपारेपछि उनले चुपचाप फोन राखे ।
दाई ७८ वर्षका भए । कम्तिमा भाई पनि ६०/६५ उमेरको हुनुपर्ने हो । तर उनमा प्रजातान्त्रिक संस्कार र आलोचना सुन्न सक्ने हैसियत रहेनछ । उनमा थियो त केबल राज्यका सनातनी शासक भएको दम्भ । म पनि किन डराऔं ? हिजो शाही सेना र दरबारले तारो बनाउँदा त छाती फुकाएर हिंडेको हुँ । आज केही महिनाका लागि उनका दाजु प्रधानमन्त्री भए भन्दैमा पत्रकारलाई मार्छु भनेर धम्क्याउनेसँग कसरी डराउन सक्छु म ? उनका दाजुको केही महिनामा प्रधानमन्त्री पद खुस्किन्छ अनि उनी पनि सडकमा पुग्छन् । के हाम्रो कलम कसैले खोसेर खोसिन्छ ? न रिटायर्ड हुन्छ हाम्रो पेशा । त्यसैले यस्ता कायरतापूर्ण धम्कीले मेरो एउटा रौं पनि हल्लिन्न ।
(श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल, नेपालका सदस्य हुन् )