कताको पृथ्वीनारायण शाह, कताको गोपाल किराँती ‘साईंला’ ?

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ६:३३ मा प्रकाशित

तपाईं बेलाबेलामा विभिन्न ‘स्क्याण्डल’ मच्चाएर चर्चामा आउने गर्नुहुन्छ किन ?
Gopal_Kiratiममाथि धेरैले गर्ने गरेको प्रश्न हो यो । मलाई पनि थाहा छैन, किन त्यस्तो हुन्छ भन्ने बारेमा । योजनाबद्ध रुपमा ‘स्क्याण्डल’ गरेको होइन । काम गर्दै जाँदा त्यस्तै हुन्छ ।
‘स्क्याण्डल’ बाट फाइदा पुग्छ कि घाटा ?
म स्वभावले पहिल्यैदेखि बामपन्थी स्वभावको मान्छे हुँ । मलाई उग्र भन्लान् तर कसैले पनि गोपाल किराँती दक्षिणपन्थी हो भन्न सकेका छैनन् । कुनै पनि कदम उठाएपछि सफल भइएन र ठक्कर खाइयो भने त्यतिबेला महसुस हुन्छ ।
गल्ती महसुस भएपछि त फेरि त्यस्तो नदोहोरिनुपर्ने होइन ?
नयाँ कदम उठाउने बेलामा पहिलेको बिर्सिहालिन्छ, फेरि त्यस्तै भइहाल्छ । हाहाहा……हाँसो ।
तपाईंहरुको पार्टीमा संयुक्त राष्ट्रिय मोर्चा भन्ने कहिल्यै नाम नसुनेको संरचना बनेछ नि ?
यो गठन भएको एक वर्ष भइसक्यो । म त्यसको महासचिव छु । एकीकृत माओवादीका ३५ वटा जातीय र क्षेत्रीय मोर्चाहरु त्यसमा आवद्ध छन् ।

पहिला पृथ्वीनारायण शाहको नामै सुन्न चाहनुहुन्नथ्यो, अहिले पृथ्वी जयन्तीकै दिन पारेर कार्यक्रम गर्न लाग्नुभएछ ?
संविधानसभाबाट जनपक्षीय संविधान बनाउन दबाब दिन, जनविरोधी संविधान आएमा विरोध गर्न र जनपक्षीय संविधान आए समर्थन गर्न ५ महिने कार्यक्रम तय गरेका छौं । त्यसमध्ये पुस २७ गते देश्व्यापी जनप्रर्दशन र प्रतिरोधसभा गर्ने भनिएको छ । समग्रमा संयुक्त राष्ट्रिय मोर्चाको यो संघर्षको कार्यक्रम नयाँ राष्ट्रिय एकीकरणको पक्षमा हो । त्यही अर्थमा पूरानो राष्ट्रिय एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन गर्न लागिएको हो ।
नयाँ राष्ट्रिय एकीकरण भनेको के हो ? त्यसका लागि पृथ्वीनारायण शाहकै जन्म दिन छान्नु परेको किन ?
अहिले हामीलाई नयाँ राष्ट्रिय एकीकरण चाहिएको छ । उत्पीडित जाति, क्षेत्र र महिलाहरुको अधिकारसहितको संविधान बनाउनु भनेको वस्तुत: नयाँ राष्ट्रिय एकीकरण हो । कुनै पनि नयाँ कामको सुरुआतका लागि पूरानो आधार अनिवार्य हुन्छ ।
त्यसो भए राष्ट्रिय एकीकरणको नारा दिएर आफूलाई अर्को पृथ्वीनारायण शाह बनाउन खोज्नुभएको ?
कताको पृथ्वी नारायण शाह, कताको गोपाल किराँती ‘साईंला’ ? नयाँ राष्ट्रिय एकीकरणको आधार १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस, महिला दलित, जनजाति, मुस्लिम समुदायको आन्दोलन हो । अत: हामी नयाँ राष्ट्रिय एकीकरणको नेतृत्व हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले गरिरहनुभएको ठान्छौं ।
पृथ्वीनारायण शाहबारे पुर्नमूल्याङ्न गर्नुभएको हो ?
एमाओवादीले पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणालाई पहिल्यैदेखि ‘ऐतिहासिक आवश्यकता’ बताउँदै आएको छ । तर त्यो सामान्तवादी केन्द्रीकरण भएकाले आन्तरिक प्रणालीमा त्यसले न्याय दिँदैनथ्यो । त्यसैले त हामीले राजतन्त्र फालेर गणतन्त्र ल्यायौं ।
पहिला त पृथ्वीनारायण शाहलाई सामान्तवादको प्रतिक भन्नु हुन्थ्यो होइन र ?
हामीले त्यसो भनेका हौं । तर माक्र्सवादले सामन्तवादलाई यस अर्थमा प्रगतिशील ठान्छ कि जसले छरिएर रहेको जमिनको केन्द्रीकरण गर्छ । त्यो केन्द्रीकरण पृथ्वीनारायण शाहले गरे । त्यस अर्थमा तत्कालिन अवस्थामा उनले जे गरे त्यो प्रगतिशील थियो । सामान्तवाद एउटा संक्रमणकालिन अवस्था हो । जुन बाटोबाट अघि बढेरै संसार पुँजिवादमा पुगेको हो ।
पृथ्वीनारायण शाहलाई प्रगतिशील भन्नेले किन उनका शालीक तोडफोड गर्नुभएको त ?
आन्दोलनमा सबै कुरा नापजाँच गरेर हुँदैनन् । त्यसरी हुने भएत संघर्ष नै हुँदैन । संसारको कुनै एउटा आन्दोलन छ त्यस्तो भने मलाई भन्नुस् । नेपाली इतिहासको ऐतिहासिक भौतिकवादी अध्ययन गर्ने क्रममा वृटिश साम्राज्यवादविरोधी अभियानका क्रममा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारलाई लिनुपर्नेबारे तत्कालिन नेकपा (माओवादी) को दस्तावेजमा स्पष्ट उल्लेख छ । खास गरी जनयुद्धको रणनीति र कार्यनीति निर्धारण गर्ने क्रममा अध्यक्ष प्रचण्डको एक आलेखमा त्यसबारे वैज्ञानिक विश्लेषण गरिएको छ । तर हामीकहाँ समस्या के छ भने अध्ययन गरेर भन्दा पनि हचुवाका भरमा बोल्ने गरिन्छ ।
जनयुद्धका क्रममा पृथ्वीनारायण शाहकै युद्धकौशलता चोर्नुभएकाले अहिले गुण तिर्न यसो भन्नुभएको त होइन नि ?
द्वन्द्वात्मक भौतिकवादी दर्शनले कुनै पनि वस्तुको विकास वा बिनाशको कारण बाह्य नभएर आन्तरिक हो भन्छ । बाह्य पक्षले सहायक भूमिका खेल्छ । नेपालमा जनयुद्ध सुरु गर्ने भएपछि यसअघि अभ्यास भएका युद्धका सबै रणनीतिहरुको खोजी गर्ने क्रममा पृथ्वीनारायण शाहले पनि दीर्घकालिन जनयुद्धको रणनीति अख्तियार गरेको पाइयो । त्यसबाट सिक्नु नेपाली क्रान्तिको मौलिकता थियो ।
यसो भनेर पूर्वराजावादीहरुको मन जित्न खोजेको त होइन ?
गणतन्त्रमा पूर्वराजावादीहरुको नेपालमा कुनै राजनीतिक अस्तित्व छैन । उनीहरुको मन जित्नु वा नजित्नुको केही अर्थ छैन । हामी मुलुकमा नयाँ राष्ट्रिय एकीकरण गर्न चाहन्छौं । त्यसका निम्ति वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक उत्पीडन आउने जो कोहीलाई हाम्रो अभियानमा स्वागत छ ।
पुस २७ मा यसअघि पृथ्वी जयन्ती मनाउन दिनुभएको थिएन, यसपटक के गर्नुहुन्छ ?
हामीले त्यस दिन प्रदर्शन गर्ने भनेको हो । पृथ्वी जयन्ती मनाउने भनेको होइन । पूरानो र नयाँ राष्ट्रिय एकीकरणको कडी जोड्ने भनेको हो । हाम्रो पृथ्वी नारायण शाहप्रति आधा समर्थन र आधा विरोध छ । हामीले पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणको कहिल्यै विरोध गरेका छैनौं । आन्तरिक राष्ट्रियतामा पृथ्वीनारायण शाहले जसरी दमन गरे, त्यसको मात्र हामीले विरोध गरेका हौं । उनले नेपाललाई ‘चार वर्ण ३६ जातको फूलबारी’ भने तर त्यसको न्यायोचित व्यवस्थापन गरेनन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए ?
कसै न कसैले एकीकरण गर्ने थिए । यदि त्यसो भएको भए आज नेपालको स्वरुप अर्कै प्रकारको हुने थियो ।
तर गैरमाक्र्सवादी कुरा गरेको भनेर तपाईको बारेमा आलोचाना हुन थालेको छ नि ?
हाम्रो नयाँ राष्ट्रिय एकीकरण अभियान र पृथ्वीनारायण शाहको मूल्याङ्कन सम्पूर्ण रुपले माक्र्सवाद सम्मत छ । ऐतिहासिक भौतिकवादी दृष्टिले इतिहासको वैज्ञानिक समीक्षा गरेर मात्रै वर्तमानको व्यवस्थापन र भविष्यको निर्माण गर्न सकिन्छ । संक्रमणकालिन नेपालमा सवत्र्र दुई अतिवादको समस्या छ । पृथ्वीनारायण शाहलाई सर्वश्व ठान्ने र पूरै निषेध गर्ने अतिवादी कित्ताबाट नकारात्मक टिप्पणीहरु सुरु भएका छन् । ती दुवै अतिवादका विरुद्ध लडाईंमा विजय हासिल गरेर मात्र हाम्रो अभियान सफल पार्न सकिन्छ ।
तपाईं एकातिर जातीय संघीयताको कुरा गर्नुहुन्छ, अर्कोतिर राष्ट्रिय एकीकरणको नारा सार्नु भएको छ, यो विरोधाभास भएन ?
पृथ्वीनारायण शाहले श्री ५ लेखे भन्नेबारेमा इतिहासमा एउटा भनाइ छ । उनले लम्जुङ, तनहुँ, कास्की र सल्यानका राजालाई आफ्नो अधिनमा राजा नै स्वीकार गरेकाले श्री ४ तथा आफ्नो प्रतीकका रुपमा श्री १ गरेर श्री ५ लेखेका हुन् । उनले लिम्बूवानमा लिम्बूहरुलाई पर्याप्त अधिकारसहित राजा स्वीकार गरेका थिए । लिम्बूवानका राजालाई किपट (भूमि प्रशासनसम्बन्धी अधिकार) दिएका थिए । त्यो समयमा पनि नेपालमा संघीयता र स्वायत्तताको संरचनो थियो । तर राष्ट्रिय एकीकरण त भनियो नि ? यसर्थ आन्तरिक रुपमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधिता भएको नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ राष्ट्रिय एकीकरण जरुरी छ । हामीले पहिचानसहितको संघीयता भनेको नेपालबाट स्वतन्त्र मुलुक भनेको होइन । नेपालभित्र स्वयत्त प्रदेशहरु बनाउने भनेको हो । यो भनेकै चार बर्ण ३६ जातको फूलबारी बनाउने कुरा हो ।
जातीय नाराका कारण पार्टी पहिलोबाट तेश्रो भयो, अझै बुद्धि फिरेन है तपाईंहरुको ?
शासकहरुले विद्रोह, आन्दोलन र क्रान्तिका बेलामा मात्र उत्पीडित वर्ग, जाति र समुदायको महत्वधोब गर्छ र उनीहरुलाई प्रयोग पनि गर्छ । एमाओवादीले सर्वहारावर्गीय अग्रदस्ताका रुपमा त्यस्तो गल्ती नगर्ने संकल्प गरेको छ । नेपाली काँग्रैसलाई बहुदलीय प्रजातन्त्र बुझाउन ३० वर्ष लाग्यो, कम्युनिष्टहरुलाई गणतन्त्र बुझाउन ५९ वर्ष लाग्यो ।

एमाओवादीलाई पनि पहिचानसहितको संघीयता बुझाउन अझै केही वर्ष लाग्ने भएको छ । नेपाली समाजमा जातीय, क्षेत्रीय उत्पीडन रहेको कुरा सबैले स्वीकार गर्छन् । तर त्यो उत्पीडनको अन्त्य कसरी गर्ने भन्ने प्रश्नमा आ–आफ्ना वर्ग दृष्टिकोणका आधारमा मतभिन्नताहरु छन् । एमाओवादीको दृष्टिकोणमा त्यो उत्पीडिनको अन्त्य पहिचानसहितको संघीयता, समानुपातिक समावेशी लोकततन्त्र तथा महिला, दलित, जनजाति, मुस्लिम, सीमान्तकृत समुदायको विशेषाधिकारको प्रणालीद्वारा एकात्मक सामन्ती राजतन्त्रले थोपरेका जातीइ, क्षेत्रीय उत्पीडिनको अन्त्य गर्न सकिन्छ भन्ने हो ।
तर जनताले त चुनावी जनमातमार्फत तपाईंहरुको एजेण्डा अस्वीकार गरेका होइनन् र ?
हामीले संघीयताको नारा दिएका कारण चुनाव हारेको भन्ने झुठ कुरा हो । त्यसमा धेरै कारण छन् । मुख्य कारण भनेको हामी दोश्रो पटक बाबुराम भट्टराईको नेतृत्वमा सरकारमा जान हुने थिएन । त्यो ठूलो गल्ती थियो । पार्टी विभाजन, संविधानसभाको कार्यभार पूरा नभएको तथा सरकारमा बसेर जनताको पक्षमा काम गर्न नसक्दा हामीलाई मतदाताले सजाय दिएकै हुन् ।

त्यसमाथि अर्को गल्ती बाबुराम भट्टराईले सरकार छाडेर कर्मचारीको जिम्मा लगाउनु थियो । दोश्रो राष्ट्रिय सम्मेलनले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको एकीकृत कार्यनीति तय गरेको थियो । सरकारमै बसेर संविधानसभाको निर्वाचन गराउने भन्ने दोश्रो राष्ट्रिय सम्मेलनको स्पिरिटविपरीत कर्मचारीलाई मुलुकको चाबी सुम्पिएरु चुनावमा गएका कारण हाम्रो पार्टी तेश्रो भएको हो । जनताले हामीलाई १५ लाख भोट दिएको स्थिति छ । यसबाट जनताले माओवादी अस्वीकार गरे भन्ने दाबीको खण्डन हुँदैन र ?
माघ ८ मा संविधान बन्छ ?
१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, चार बुँदे सहमति, मधेसी, जनजाति लगाययतसँग सरकारले गरेका सहमति अनुसारको संविधान डाँडापारि पुगेजस्तो देखिन्छ । त्यसलाई डाँडावारि ल्याउन हाम्रो मोर्चाले संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
तपाईंहरुले भनेजस्तो संविधान बनेन भने के गर्नुहुन्छ ?
बहुमतको आडमा परिवर्तन र पहिचानविरोधी संविधान थोपरियो भने त्यसविरुद्ध माघ ९ र १० गते जनता सडकमा उतारेर निर्णायक आन्दोलन गर्छौं । काँग्रेस–एमालेलाई निर्णायक धक्का दिने तयारीमा छौं । त्यसका लागि कात्तिक महिनाभर तयारी गर्ने । मंसिर र पुसभर सबै जिल्ला प्रशासन कार्यालय र काँग्रेस–एमालेसहित पहिचानविरोधी दलको कार्यालय घेराउ गर्ने र कतिपय स्थानमा बन्द/हड्तालका कार्यक्रम गर्छौं ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पटकपटक माघ ८ मै सबैलाई स्वीकार्य हुने संविधान जारी गर्ने बताइरहेका छन्, त्यसो भए उनले ढाँटेका हुन् ?
सुवास नेम्वाङ संविधानसभाका लेखक र निर्देशक होइनन् । उनी केबल त्यस मञ्चका एक पात्र हुन् । उनलाई खटाउने पनि निर्देशक छन् । उनले आफ्ना निर्देशकले जे खटाउँछन् त्यही गर्ने हो । हिजो काँग्रेस–एमाले संविधानसभामा कमजोर हुँदा कानमा तेल हालेर बस्ने सुवास नेम्वाङलाई अहिले काँग्रेस–एमालेको बहुमत भएपछि खुब जाँगर चलेको छ । बास्तवमा भन्ने हो भने अघिल्लो संविधानसभा खाने प्रमुख पात्र उनै हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us