काठमाण्डु, २२ भदौ – विवादित बिषयमा दलहरुबीच सहमति जुटाउने जिम्मेवारी पाएको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले कार्यतालिकाको समयावधीभित्र गरेको कामको प्रतिवेदन सभामुख सुबास नेम्वाङलाई बुझाएको छ ।
समितिलाई विवादित बिषयमा सहमति जुटाउन भदौं २१सम्मको अवधी दिइएको थियो ।
समिति सभापति बाबुराम भट्टराईले सभामुख नेम्वाङलाई सहमतिको लागि समय थप गर्न आग्रहसहितको प्रतिवेदन बुझाएका हुन् ।
राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीजस्ता बिषयमा दलहरुबीच सहमति जुटेको छैन् । प्रतिवेदनमा यि बिषयहरु अन्तरसम्बन्धीत भएकाले एकै पटक सहमति जुट्ने र समिति सहमतिको नजिक पुगेेको उल्लेख छ ।
समिति भासपति भट्टराईले दलहरुसँगको सहमतिको लागि थप समय आवश्यक भएको भन्दै समय उपलब्ध गराउन सभामुखसँग आग्रह गरे ।
सभामुख नेम्वाङले दलहरुसँगको छलफलाई जारी राख्न समिति सभापति भट्टराईलाई आग्रह गरे ।
प्रतिवेदन बुझ्दै सभामुख नेम्वाङले यि बिषयहरुलाई संबिधानसभाको प्रक्रियामा लगिने बताए । संबिधान सभामा प्रक्रियामा लगिएका बिषयलाई पनि सहमतिको लागि संवाद समितिमा पठाउन सक्ने नियमावलीमा उल्लेख छ ।
स्रोतका अनुसार विवादित बिषयमा छलफलका लागि बुधबार संबिधान सभाको बैठक बोलाइदै छ ।