विराटनगर, २२ भदौ – इलाका प्रहरी कार्यालय र सीमा प्रहरी चौकी रानीबाट विराटनगर भन्सार नाकामा अपराध नियन्त्रण गर्न खटिएका एक प्रहरी सहायक निरीक्षक र एक हवल्दारसहित चार प्रहरी अवैध असुली गरेको आरोपमा निलम्बनमा परेका हुन् ।
निलम्बनमा पर्नेहरुमा इप्रका रानीका प्रहरी सहायक निरीक्षक लोकनाथ काफ्ले जवान जयबहादुर ढकाल, सीमा प्रहरी चौकी रानीका प्रहरी हवल्दार अर्जुनकुमार श्रेष्ठ र जवान उर्मिला कार्की छन् ।
भन्सार नाकामा ड्युटीमा रहेका उनीहरुले झोलेपोकेहरुसँग भन्सार छली गर्न दिएबापत अवैध रकम असुल्ने गरेका थिए ।
अपराध नियन्त्रणमा खटिएको प्रहरी आफै अपराधमा संलग्न भएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए।
प्रसनि काफ्लेको टोलीले अवैध रुपमा असुल गरेको रकम दैनिक भागबन्डा गर्ने गरेको फेला परेपछि इप्रका रानीले आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निलम्बनका लागि सिफारिस गरेको छ ।