काठमाण्डु, २२ भदौ–युवाहरुलाई अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका श्यामराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
उपल्लो तहका कर्मचारीले सरकारी कागजपत्र बनाइदिएर उनलाई सघाउने गरेको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पाण्डेलाई गत साता पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सरकारी अधिकारीहरुले नै पाण्डेले खोजेको युवाहरुको भिसा नोट दिएर सहयोग गरेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।
पाण्डेले सहरी फोहोर प्राविधिक व्यवस्थापन सेवा र समीक्षा ‘टी’ एन्ड कफी नामक संस्था स्थापना गरी तिनकै नामबाट मन्त्री, सभासद् र उच्च तहका कर्मचारीलाई विदेश पठाउने गरेका थिए ।
तत्कालीन महिलामन्त्री बद्री न्यौपानेलाई पनि पाण्डेले आफ्नो संस्थाबाट विदेश लगेका थिए । सरकारी कर्मचारीसँगै विदेश पठाइदिने भन्दै पाण्डेले युवाहरुबाट रकम उठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
सिआइबी स्रोतका अनुसार सयभन्दा धेरै पीडितले उनीविरुद्ध उजुरी गरिसकेका छन् । अमेरिका पठाइदिने भन्दै लाक्पा शेर्पा नामक युवाबाट मात्रै पाण्डेले ४० लाख रुपैयाँ उठाएका थिए । एकजनासँग कम्तीमा पाँच लाख रुपैयाँ उठाएका थिए ।
नयाँ पत्रिकाबाट