
काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ ।
सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ । विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो ।
प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन् । अधिकांश सामान पूरानै निवासमा थिए । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए, तर पनि चोरी भएको हो ।
गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख रुपैयाँ चोरिएको हो । चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो । ‘सुशील’दाले अप्ठ्यारो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चारिएको रहेछ,’ स्रोतले भन्यो ।
घरको साँचो सहयोगीहरुका हातमा हुने गरे पनि दराजको साँचो भने कोइरालाले नै राख्ने गरेका थिए । आफ्नो दराजको लक फोडेर पैसा हराएको खबर भने कोइरालाले आफू अमेरिका उड्नुअघि मात्र थाहा पाएका थिए ।
त्यसपछि आफ्ना नजिकका सहयोगीलाई पठाएर दराज हेर्न लगाई चोरी भएको पुष्टि भएको थियो । दराजको लक फोडेर पैसा चोरी गरेपछि उक्त दराजको लक पुन: बनाइएको थियो ।
चोरीपछि घर छाड्ने निर्णय
प्रधानमन्त्री कोइरालाले आफू पहिलेदेखि बस्दै आएको महाराजगन्जस्थित निवास छाड्ने निर्णय गरेका छन् । बालुवाटारमा सरे पनि अमेरिका जानुअघिसम्म उनका सामान सोही घरमा राखिएको थियो ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि २३ चैत ०६७ देखि सुशील सो घरमा बस्दै आएका थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेपछि ०६५ भदौदेखि सो घरमा बस्न थालेका थिए ।