एमाओवादीको मागअनुसार समितिको म्याद थप्न काँग्रेस–एमाले सहमत

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २१ भदौ- सत्तारुढ काँग्रेस र एमाले एकीकृत माओवादीको मागअनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद थप्न सहमत भएका छन् ।

pm 3 dal
शनिबार साँझ बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठकले संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै समितिको म्याद थप गर्न सहमत भएका हुन् । यद्यपि दलहले कति समय थप्न आग्रह गरिएको हो भन्ने खुलाएका छैनन् ।

एमाओवादीले वैद्य माओवादीलाई समेत सहमतिमा ल्याउन पर्याप्त समय चाहिने भन्दै एक महिना म्याद थप्नुपर्ने बताएको थियो । एमाओवादीले सहमतिमै संविधान जारी गर्नुपर्ने भन्दै समितिको  म्याद थप्नुपर्ने प्रस्ताव शुक्रबार बसेको शीर्ष नेताको बैठकमा राखेको थियो ।

तर काँग्रेस–एमालेले सहमति भएका र नभएका विषय छुट्याएर संविधानसभाको प्रक्रियामा लैजाने अडान लिएका थिए । पूर्वनिर्धारित कार्यतालिकाअनुसार विवादित विषयमा सहमति जुटाउने समय शनिबार साँझ सकिएको थियो ।

संवाद समितिले पनि घुमाउरो शब्दमा ८ माघमा संविधान जारी गर्ने कार्यतालिका प्रभावित नहुने गरी समय थप्न  संविधानसभालाई आग्रह गरेको थियो । आफ्नो प्रतिवेदनमा समितिले केही विषयमा विवाद मिलाउन बाँकी रहेको उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us