
काठमाण्डु, २१ भदौ– एकीकृत माओवादीका स्थायी समिति सदस्य गोपाल किराँतीले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण सही रहेको बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार संयुक्त राष्ट्रिय मोर्चाको संर्घषका कार्यक्रम घोषणा गर्दै उनले पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरण सकारात्मक रहेको बताए ।
राज्य एकीकरण राम्रो कुरा भए पनि पृथ्वीनारायण शाहले जातीय अधिकार खोसेकामा पनि आफूहरुको आपत्ति रहेको उनको भनाइ थियो । ‘पृथ्वीनारायण शाहले गरेको राज्य एकीकरणलाई हामी सकारात्मक रुपमा लिन्छौं’, उनले भने, ‘तर, जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन गर्नुको साटो जाति र क्षेत्रका अधिकार खोसियो ।’
मोर्चाले पहिचानसहितको संविधान जारी गर्न दाबब दिने जनाएको छ । मोर्चामा माओवादी सम्वद्ध ३५ जातीय मोर्चा सहभागी छन् । किरातीले मोर्चाले पहिचानसहितको संविधानका लागि दबाब दिन कांग्रेस, एमालेलगायतका दललाई विरोध पत्र दिने उनीहरुका कार्यालय घेराउ गर्ने लागयतका कार्यक्रम रहेको बताए ।
संविधानसभाबाट पहिचानसहितको संविधान नआए आगामी माघ ९ र १० गते देशव्याप आमहड्ताल गर्ने पत्रकार सम्मेलनमा जार विज्ञप्तिमा जनाइएको छ ।