कञ्चनपुर, २१ भदौ– कञ्चनपुरको देखतभूली–३ जाइजालास्थित जनचेतना प्राथमिक विद्यालयले जग्गा भाडाबाट उठेको पैसाबाट शिक्षकको तलब खुवाउँदै आएको छ ।
विद्यालयको स्वामित्वमा रहेको पौने तीन बिघा जग्गा भाडामा लिएर त्यसबाट आउने रकमबाट निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब दिने गरिएको छ । प्रधानाध्यापक मङ्गल चौधरीले तीन शिक्षकको तलब जग्गा भाडामा दिएर आउने रकमबाट बेहोरिँदै आएको बताए ।
उनका अनुसार विद्यालयले भाडाबापत वार्षिक ७० हजार रुपैयाँ आम्दानी गर्छ । विद्यालयले २०६१ सालदेखि जग्गा भाडामा दिएर शिक्षकलाई तलब खुवाउँदै आएको चौधरीको भनाइ छ । सो विद्यालयमा अधिकांश मुक्तकमैयाका बालकालिका पढ्छन् ।