
बेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गर्छन, थाइल्याण्डका यातायातमन्त्री चाडचार्ट बैंककमा बसयात्रा अत्यन्तै ढिलो हुने बुझ्दाबुझ्दै पनि झन्डै प्लेन नै छुट्ने गरी गत जुनमा बसबाटै एयरपोर्ट जान्छन् । त्यसैले अनावस्यक अनगिन्ती पार्टी र नेता भएको गरिब देशका नेताहरु भने महंगा सवारी साधनको सट्टा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जस्तै सार्वजनिक यातायातमा चढ्नु नैउपयुक्त र व्यवहारिक हो, तर पनि त्यसो भने हुन नसकिरहेको कारण श्रेष्ठको नियमित सार्वजनिक यातायात प्रयोग गराइ राष्ट्रिय चर्चाको विषय बन्न पुगेको छ।
पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सार्वजनिक यातायात चढ्न थालेपछि जसरी समाचार बन्यो त्यसरी समाचार त गरिब नेपालका नेताहरु महंगा सवारी साधन चढनुको बन्नु पर्थ्यो । जुन कुरो व्यवहारिक र देश सुहाउँदो हो, त्यही काम गर्दा यत्रो चर्चा परिचर्चा हुन्छ भने हामी कतिसम्म अव्यवहारिक भएका रहेछौं त ?
सम्पन्न मुलुकमा अनगिन्ती नारायणकाजी हुँदा प्रतिव्यक्ति आयका हिसाबले २६२ देशमा जानकारी प्राप्त भएका २२८ देशमध्येमा २०७ औं देशमा पर्ने एउटा तन्नमभगत हामीकहाँ बल्लबल्ल एउटा नयाँ नारायणकाजी जन्मन्छन् भने सीमित व्यक्तिहरु मोटाएर देश सुकेनास रोगले ग्रस्त हुने रोगबाट उन्मुक्ति पाउने परिकल्पनाले सार्थक रुप लेला भन्ने आधार के त ? गरिब देशका अनगिन्ती नेताहरुद्धारा प्रयोग गरिने महंगा सवारी साधन प्रसंग ठूलाठूला भ्रस्टाचारजस्तै समाचार बन्न छाडिसकेको छ । यसको स्पस्ट अर्थ हो यी ठूला गम्भीर समस्याहरुलाई समस्या देख्ने मानसिकता र माहौल थकित र बेसहार भैसकेका छन् ।
त्यसो त प्रधानमन्त्री भएपछि मुस्ताङ गाडी चढ्ने र प्रधानमन्त्री भएरै विदेश यात्रामा इकोनोमिकल टिकट प्रयोग गर्ने बाबुराम भट्टराई रहनुमानढोकास्थित तलेजु भवानी मन्दिरको माथिल्लो तलाबाट जनताको घरको धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने राजा महिन्द्र मल्ल पनि नभएका होइनन । अत्यन्तै सामान्य घरमा बसी बाणिज्य बैंकबाट ॠण लिएर कुखुरा पालन व्यवसाय गरी लिएको ॠण तिर्न कठीनाइ भएका कारण आँशु चुहाउने पटकपटक मन्त्री भएर प्रधानमन्त्री भएका मरिचमान सिंह पनि नभएका होइनन् । गत चुनावमा चुनाव खर्च जुटाउन १० रुपैयाँमा पर्चा बेच्दै हिंड्ने पूर्वउपप्रधानमन्त्री यिनै नारायणकाजी अहिले लामो समय सार्वजनिक यातायातमा यात्रा गर्न थालेपछि यसले ठूलै स्थान पाएको छ संचार जगतमा । हुनु पर्ने र गरिनुपर्ने काम हुँदा रगरिंदा यसरी चर्चा पाउनुको स्पस्ट अर्थ हामी टाउकोले हिंडिरहेका रहेछौं भन्ने हो ।
भनिन्छ ‘देश अनुसारको भेष’ । र पनि धनी देशका नेताहरुका व्यवहारिक सामान्य जीवनशैली देखिंदा समेत गरिब देशका नेताहरुको अस्वाभाविक तडकभडक जीवनशैली देखिनुले देश र जनता दुवैमा भुङ्रो जस्तो ज्वरो निकाल्नु अस्वाभाविक होइन । गरिब देशका नेताहरुको आलिशन जीवनशैली नै भ्रस्टाचारलाई प्रश्रय दिने मूलअाधार हो । चिया, चुरोट खानेहरु समातिने तर करोडौं अरबौं खानेहरु स-सम्मान हिंड्नु र अझ विदेश सयरको अवसर दिइनु भनेको कानुनी राज्य स्थापित नहुनु हो, स्थापना हुन नदिइनु हो । ज्वरो आउँदा सिटामोल खान नपाउने रसुत्केरी हुने बेलामा सुडेनीको दर्शन दुर्लभ हुने देशमा राजनीति गर्नेहरु पजेरो र प्राडोको मालिक बन्नु सामान्य र काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं मुलभूत कुरोलाई छाडी विदेश शयर पानी पँधेरो हुने अवस्थासामना गरिरहंदा, भ्रस्टाचार प्रमाणित गर्न प्रमाण आवस्यक पर्ने, तर प्रमाण जुटाउन दसी पनि फेला पार्न नसक्ने गरी जादु सूत्रपात गर्ने क्षमता भएका नांगा बादशाहहरुलाई नांगो भन्न नसकिरहेका बेला पूर्वउपप्रधानमन्त्री श्रेष्ठ लामो समय सार्वजनिक सवारी साधन चढने प्रसंगले एउटा तरंग ल्याउनु स्वभािवकै हो । ‘पार्टीमा भ्रष्टीकरण बढ्दै गएका कारण यस्तो आन्दोलनथालेको हुँ । एकपटक मन्त्री हुँदैमा जीन्दगीभर पुग्ने गरी पैसा र महंगागाडी कहाँबाट आउँछन् ? मेरो पार्टीले यो कुराको बोध नगरेसम्म मेरो आन्दोलनजारी रहन्छ ।’ उनको भनाइ छ । उन्ले आफ्नो पार्टीतिर इंगित गरे तापनि एकपटक सांसद, मन्त्री र प्रधानमन्त्री भएपछि केही नगरिकनै आजीवन त्यही रवाफमा बस्ने परिपाटीप्रति नै लक्षित छ उनको यो आन्दोलन ।
२०३८ सालतिर गोर्खाबाट काठमाण्डु आउने क्रममा यात्रुले खचाखच भरिएको बसमा सानो ठाउँ भए पनि पुग्ने वरिस्ठ नेता राजेश्वर देवकोटालाई अरुसंगसंगै बस्न नहुने भनी पूरै सिट कब्जा जमाएर बसी संगैको सिट खाली छाडिएको देखेको केही समयपछि गोर्खाबाट काठमाण्डु आउने क्रममा नै यात्रुले खचाखच भरिएको बसमा अर्का वरिस्ठ नेता बिस्वबन्धु थापा एकजना गर्भवती महिलाको लागि सिट छोडन लगाउन एकजना अधिकृत स्तरका व्यक्तिसंग झगडा गरेको देख्न पुगें । नेता थापा आँफै पनि उभिएका थिए । त्यस्तै सवस्हरणसहित राणाकालमा जेल पर्दा ‘जेलमा बीस बर्ष’ पुस्तक लेखेर चर्चामा आएका र जेलबाहिर आँउदा नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले समेत तीन घन्टाको लाइनमा बसेर हातमा पुष्पार्पण गरिएका पूर्वमन्त्री खड्गमान सिंहले आफ्नै स्वकीय सचिवले आफ्नो पछाडि ‘खड्गे आफू पनि नखाने, अरुलाई पनि खान नदिने’ भन्दै गाली गरेको गुनासो पोख्थे हामीसंगको भेटको क्रममा । यी सरलता सांसद र मन्त्री हुने बित्तिक्कै सबै पजेरोपति भएको नदेखिने अवस्थाका थिए । अन्याय, अत्याचार, भ्रस्टाचार, नातावाद, कृपावाद, फरियावाद आदिको विरोध गर्दै पञ्चायतलाई बहुदलीय प्रजातन्त्रले र बहुदलीय प्रजातन्त्रलाई गणतन्त्रले विस्थापित गर्दा समेत ठूला देशहरुको भन्दा पनि ठूलो संख्यामा सांसद र बारम्बारको जम्बो मन्त्रीमण्डलका मन्त्री हुनेहरुका बीच खड्गमान सिंह, रुपचन्द्र वष्ट, बुद्धिमान तामाङहरुको खडेरी परेको बेलामा पूर्वउपप्रधानमन्त्रीको यो किसिमको आन्दोलनको निरन्तरताले महत्व पाउनु असान्दर्भिक होइन ।
जति थकित भए पनि आफूले खाएका भाँडा माझ्ने बानी नछाडेका पूर्वउपप्रधानमन्त्री श्रेष्ठ आजकाल गाढी चढेको थाहा पाएपछि गाडी स्टाफहरुको सर्वसाधारणलाई गर्ने व्यवहार नै फरक हुन थालेको छ । उनीहरुको यो अस्थायीव्यवहारलाई स्थायी रुपमा परिणत गर्न धेरै नारायणकाजीहरु र स्पस्ट र ठोस नीति र नियमको आवश्यकता पर्छ । आदर्शले मात्रै देश बन्ने भए त देश पहिल्यै सिंगापुर बनिसकेको हुन्थ्यो । सबैतिर अस्तव्यस्त र तहस नहस समाज र देश रुपान्तरण सम्भव त्यसबेला मात्रै हुन सक्छ जब नेतृत्वदायी भूमिका निर्बाह गर्नेहरु व्यवहारिक बन्छन । अन्यथा रक्सी पूरानै बोत्तल मात्रै नयाँ भने झैं नव धनाढ्यहरु जन्मने र नव डनका मालिक बन्ने प्रकृया अगाडि बढ्ने र त्यसले विस्तारै देशमा माफियातन्त्रको विकास हुने खतरालाई नकार्न सकिन्न ।
देशको दुर्दशाको मूल जरो भनेकै कुर्सी मोह, नातावाद, कृपावाद, पार्टीवाददजस्ता स्वार्थपूर्ण सोंच हुन । त्यसैले दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले जस्तै जीवनशैली हाम्रा नेताहरुले पनि अपनाउने भए न त देश भ्रस्टाचारको दलदलमा फस्थ्यो न त देश यसरी अनिर्णयको बन्दी बन्थ्यो । कसले कसलाई केका आधारमा सुन्ने र आदर गर्ने भन्ने जस्तो जटिल समस्या आदर्श पुरुषको अभावमा टड्कारो रुपमा देखा परेको देखिएको समस्या हो हाम्रो । अथाह श्रोतको धनी देशको यो हालतको कारक तत्व भनेकै उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाको शब्दमा भन्ने हो भने हाम्रा गरिब नेताहरु र गरिब व्युरोक्र्याटसहरु हुन । उनी भन्छन ‘मलाई कँगाल राष्ट्रपति भन्छन्, तर मलाई त्यस्तो लाग्दैन । गरिब त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन, जसले धेरैभन्दा धेरै कमाउन चाहन्छन् । दक्षिण अमेरिकी मुलुक उरुग्वेका बहालवाला राष्ट्रपति जोसेमुजिका, जो उपचार गर्न आफ्नै देशको अस्पतालमा पालो कुर्छन् भने हाम्रा नेताहरु स्वास्थ्य उपचारका खातिर पखालाले ग्रस्त भएको व्यक्ति शौचालय धाएजस्तै गरेर राज्यको ढिकुटीबाट करोडौं रुपयाँ सकाउँदै विदेश औषधोपचारको लागि तारन्तार धाउने गर्छन् । लोकलाजले पनि नारायणकाजीको असर उनीहरुमा केहीपर्ला कि भन्यो, कहीं कतै त्यसको छनक समेत पनि देखा पर्नु त परै जाओस उल्टै उनीहरुको आफ्नैपनाको महामारी मच्चाएरै भने पनि नारायणकाजीलाई अत्याउन खोज्ने प्रवृत्तिका कारण लाज त लोकलाई पो लागिरहेछ ।
अस्ट्रेलिया