खान नपाएर होइन, खान नजानेर कुपोषण

काठमाण्डु टुडे २०७१ भदौ १८ गते २:१४ मा प्रकाशित

kuposhanसंखुवासभा, १८ भदौ –संखुवासभाको दुर्गम गाउँमा खान नपाएर भन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ ।

कुन उमेरका बालबालिकाकालाई के खुवाउने र के नखुवाउने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मदनकुमार उपाध्यायले भने, ‘यहाँको अवस्था फरक छ । खान नपाएर होइन, खान नजानेर बढी कुपोषित छन् ।’

जिल्ला स्वास्थ्य कार्यालय र सेभ द चिल्ड्रेनको सुआहारा कार्यक्रमले गरेको अध्ययनअनुसार गाउँका अभिभावकमा दुई वर्षमुनिका बालबालिकाको पोषण र उनीहरुलाई खुवाउने तरिकाबारे खासै ज्ञान छैन ।

कतिपय क्षेत्रमा छाक टार्न बालबालिकालाई जाँडसमेत खुवाउने गरिन्छ । ‘ठूलाले जे खान्छन्, बालबच्चालाई पनि त्यही कोचाउन खोजिन्छ, त्यसले समस्या आउँछ’, उपाध्यायले भने ।
संखुवासभामा दुई वर्षमुनिका सात हजार ७८ बालबालिकामा कुनै न कुनै रोग भेटिएको छ । आदिवासी जनजाति बाहुल्य यस जिल्लामा बाल्यकालदेखि नै मदीरा खुवाउने, पाचनयोग्य खानेकुरा नखुवाउने र वयस्कले खाने खाना बालबालिकालाई पनि दिने गरिन्छ । एक वर्ष नपुग्दै कोदोको ढिंडो खुवाउने चलन पनि छ ।
गर्भवति महिलाले पौष्टिक खानेकुरामा ध्यान नदिँदा पनि नवजात शिशुमा कुपोषण देखिने गरेको छ । उत्तरी चार गाविस किमाथांका, हटिया, चेपुवा र पावाखोलाका करिब पाँचसय बालबालिका कुपोषित भएका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us