काठमाण्डु, १७ भदौ– काँग्रेस, एमाले, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । 
भावी संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय भेला गर्ने सैद्धान्तिक सहमतिबाट सरकार नेतृत्वकर्ता नेपाली काँग्रेस पछि हटेपछि बैठक बिनानिष्कर्ष सकिएको हो । यसअघि गत जेठमा चार दलबीच सर्वपक्षीय भेला गर्ने सैद्धान्तिक सहमति भएको थियो ।
भेलाको विधि र प्रक्रियाबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा चार दल बैठक बसेको हो । बैठकमा वैद्य माओवादीले यसअघि आफूले बुझाएको आठ बुँदे सहमतिबारे तीन दलको धारणा मागेको थियो । काँग्रेसले सर्वपक्षीय भेला डाक्न अस्वीकार गरेको छ भने एमालेले पार्टीमा छलफल गर्नुपर्ने भन्दै गोलमटोल जवाफ दिएको छ ।
एकीकृत माओवादीले भने वैद्य माओवादीको मागमा सहमति जनाएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैद्य माओवादीलाई समेत संविधान लेखन प्रक्रियामा सँगै लिएरु जानुपर्ने बताए । उनले जेठ २६ गतेको बैठकमा एक साताभित्रै अर्को बैठक बसेर सर्वदलीय सभाबारे निर्णय गर्ने भनिए पनि अहिलेसम्म सरकारले बैठक नबोलाएको भन्दै आपत्ति जनाए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वैद्यको ८ बुँदेबारे आफूलाई केही थापा नभएको बताए । उनले संविधानसभाले आफ्नो काम निकै अगाडि बढाइसकेको अवस्थामा संधिवानसभाबाहिर संविधानका अन्तरवस्तुमा छलफल गर्नुको धेरै अर्थ नरहने उल्लेख गरे । एमाले कार्यबाहक अध्यक्ष गौतमले भने ८ बुँदेबारे पार्टी बैठक बसेर औपचारिक धारणा बनाउने बताए ।
त्यसपछि बोलेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सर्वपक्षीय भेलाको औचित्य नरहेको बताए । उनले सर्वपक्षीय भेलाको माग स्वीकार्न भन्दा पनि वैद्य माओवादीको कुरा बुझ्न मात्र आफूहरु छलफलमा सहभागी भएको बताएपछि बैठक तातियो । अझ उनले भदौ २१ गतेभित्र संविधानका विवादमा सहमति नभए प्रक्रियामा जाने अभिव्यक्ति दिएपछि त झन् माहोल बिग्रियो ।
पौडेलेको कुरा सुृनेपछि नेकपा–माओवादीको नेताहरु बैठकमा नराम्ररी रन्किए । माओवादी सचिव देव गुरुङले माग स्वीकार्य नभए पहिला किन सैद्धान्तिक सहमति जनाएको र अहिले किन छलफलमा बोलाएको भन्दै पौडेलको झाँको झारे ।
‘हाम्रो मागमा सकारात्मक छलफल हुन्छ भनेर आएका हौं’, सचिव गुरुङले भने, ‘हाम्रो माग पूरा नहुने हो भने किन बोलाएको ?’ उनले राजनीतिक सहमतिमा अघि बढ्ने कि पेलेर जाने भन्दै तीन दलका नेतासँग प्रश्न गरे ? गुरुङ कड्किएपछि तीन दलबीच छुट्टै छलफल गरेर १९ गते फेरि बस्ने गरी बैठक स्थगित भयो ।
यस्तो छ जेठ २६ गते वैद्य माओवादीले राखेको सर्वपक्षीय सभाको विधि र प्रक्रिया
१.नामस् सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा
२.क्षेत्राधिकारस् दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दलहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने ।
३. आयोजकस् तत्काल नेपाली कांग्रेस, नेकपा ९एमाले०, एनेकपा ९माओवादी० र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने ।
४. व्यवस्थापनस् नेपाल सरकारले गर्ने ।
५. सहभागितास् संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने ।
६.कार्यसूचीस् आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने ।
७. निर्णयप्रक्रियास् सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने ।
८.निर्णय कार्यान्वयनस् संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने ।