काठमाण्डु, १६ भदौ – नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघले तेश्रो राष्ट्रिय महाधिवेशन कार्यतालिकाको घोषणा गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रो महाधिवेशन विगतको भन्दा पृथक हुने भन्दै यो महाधिवेशनबाट समावेशी तथा क्षेत्रियता कायम गर्ने बताएको छ । संघले केन्द्रिय महाधिवशेन भने आगामी मंसिर १३, १४ र १५ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
संघकी अध्यक्ष डा. डिला संग्रौलाले तेश्रो महाधिवेशनमा महिलाहरुको सहभागीतालाई वृद्धि गर्ने प्रतिबद्धता जाहेर गर्दै संघको केन्द्रीय नेतृत्वमा आरक्षीत प्रतिनिधित्वबाट ल्याईने जानकारी दिइन् । संग्रौलाका अनुसार महाधिवेशनमा गाउँ, नगर समिति, क्षेत्रिय कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिको समेत प्रतिनिधित्वहरुबाट करिव २२०० सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागीता हुने छ ।
अध्यक्ष संग्रौलाले भनिन्–तेश्रो राष्ट्रिय महाधिवेशन गर्दैगर्दा हामी देशभरका महिलाहरुमा उत्साह र उमंग छाएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा हामीले देशभरै अभिमुखीकरण, वैचारिक बहसका कार्यक्रमहरु समेत गरिरहेका छौं । साथै विभिन्न किताबहरु समेत सार्वजनकि गरेका छौं ।
संग्रौलाले नेपाल महिला संघको ६८ औं वर्षको लामो इतिहासमा विभिन्न उतारचढाव आएको स्मरण गर्दै यसपालिको तेश्रो राष्ट्रिय महाधिवेशन भने एकताको महाधिवेशन हुने पनि जिकिर गरिन् । उनले महिला संघको आधार भनेको नै देशभरिका साधारण तथा क्रियाशिल सदस्य भएको प्रष्ट पार्दै साधारण सदस्यको कुनै सिमा निर्धारण समेत नगरेको जानकारी दिएकी छिन् ।
उनले आगामी महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चुस्त, समावेशी हुने समेत जानकारी दिएकीछिन् ।