फेरि गोलमेच सम्मेलनको कसरत

काठमाण्डु टुडे २०७१ भदौ १६ गते २:४२ मा प्रकाशित

काठमाण्डु, १६ भदौ –प्रमुख तीन दलबीच संविधानसभा चुनाव बहिस्कार गरेका दलहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन ‘राजनीतिक सभा’ बोलाउने अनौपचारिक समझदारी भइसकेको छ । यद्यपि त्यसको मोडालिटीमाथिको विवाद अझै टुंगिएको छैन ।

माओवादीले सर्वपक्षीय राजनीतिक सभा भने पनि प्रमुख दलहरु त्यस्तो बैठकको नाम के दिने र क–कसलाई सहभागी गराउने भन्ने विषयमा अझै सहमतिमा पुग्न सकेका छैनन् ।
स्रोतका अनुसार माओवादीले पनि संविधानका अन्तर्वस्तुमा आफूहरुको समेत सहभागितामा सहमति जुटे त्यसको औपचारिक अनुमोदन संविधानसभाबाट गर्न सकिने जनाउ प्रमुख दलहरुलाई दिएको छ ।
प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसी मोर्चाले त माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनु पर्ने औपचारिक निर्णय नै गरिसकेका छन् ।

संविधानसभाको राजनीतिक संवाद समितिले पनि बाहिर रहेका शक्तिहरुसँग वार्ता गर्ने कार्यसूचीमा नै राखेको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी नेता प्रचण्डले यसमा सहमति खोज्न आफैँ पहल थालेका छन् ।
‘संविधानसभा निर्वाचन र यो प्रक्रियाको विपक्षमा रहेको नेकपा–माओवादीको मागअनुसार राजनीतिक सभाको तयारी भइरहेको छ’, संवाद समितिका सभापति बाबुराम भट्टराईले शुक्रबार पत्रकारहरुसित भने, मोडालिटी एजेन्डालगायतका विषयमा सहमति हुन बाँकी छ ।’
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us