काठमाण्डु, १६ भदौ– यस वर्षको दसैं १३ दिन मात्र हुने भएको छ ।
तिथीमा आएको घटबढ र दशमी तिथि टुटेकाले यस वर्षको दसैं १३ दिन मात्र हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघि १५ दिनको दसैं हुने गरेको थियो ।
आश्विन शुक्ल प्रतिप्रदादेखि पूर्णिमासम्म मनाइँने दसैंमा यसपालि दशमी तिथि टुटेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।
९ असोजमा घटनास्थापना गरी सुरु हुने दसैंमा १५ गते फूलपाति र १६ असोजमा महाअष्टमी परेको छ । १७ असोजमा नवमी तिथी बिहान करिब साढे ६ बजे सकिएपछि दशमी लाग्छ ।
तर, भोलिपल्ट एकादशी भएकाले विजयादशमी त्यही दिन मनाउने निर्णय भएको गौतमले जानकारी दिए ।