काठमाण्डु, १६ भदौ– निरक्षरता उन्मुलन गर्न यस वषै माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ ।
एक निरक्षरलाई साक्षर गराउने विद्यार्थीले १० नम्बर पाउने गरी अनौपचारिक शिक्षा केन्द्रले ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
निरक्षरता उन्मुलन गर्न विद्यार्थी परिचालन तथा मूल्याङ्कन निर्देशिका शिक्षामन्त्रीस्तरीय निर्णयबाट गत वर्ष पुसमा पारित भएको थियो । निर्देशिका यस पर्षबाट कार्यान्वयनमा लगिने अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक केशव दाहालले जानकारी दिए ।
‘यो वर्ष विद्यार्थीबाट प्राक्टिकलसँग जोडेर साक्षरता कार्यक्रम सञ्चालन गर्छौं’,दाहालले भने, ‘यसले साक्षरत कार्यक्रमलाई सफल बनाउँछ ।’
माध्यमिक तहको स्वास्थ्य, जनसंख्या तथा वातावरण र शिक्षा विषयको प्रयोगात्मक विषयमा साक्षरता अभियानलाई जोडिने दाहालले बताए । निर्देशिकामा कम्तीमा एकजना निरक्षरलाई साक्षर बनाउनुपर्ने प्रावधान राखिएको छ ।