प्रहरी अधिकारी नै तस्करीमा संलग्न रहेकाे खुलासा

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ७:५४ मा प्रकाशित

कैलाली ९ भदौ– जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक रमेश पण्डित अवैध धन्दा र तस्करीमा मुछिएका छन् ।

सबैतिरबाट तस्करहरुसँग मिलेर अवैध धन्धा सञ्चालन गरेको आरोप लागेपछि पण्डितसँग सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ ।

क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नायव महानिरीक्षक जयबहादुर चन्दले पण्डितमाथि धेरै स्थानबाट पैसा खाएको आरोप लागेकाले अनुसन्धान थालिएको बताए ।

पण्डितमाथि जिल्लामा आएदेखि नै अवैध धन्दा र अपराधमा संलग्न व्यक्ति र समूहलाई कारबाही गर्नुको सट्टा उनीहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो ।

पछिल्लो पटक प्रहरीले असुलियाबाट बरामद गरेको ३२ थान सालको काम तस्करी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला वन कार्यालयमा बुझाउने पर्ने तस्करीको काठ उनले आफ्नो क्वाटरमा लगेर राखेका थिए ।

कैलालीका  जिल्ला वन अधिकृत मुरारीप्रसाद पोखरेलले तस्करबाट बरामद काठ इलाका वा जिल्ला वनलाई बुझाउनुपर्ने भए पनि त्यसो नगरिएको बताए ।

पण्डितमाथि पाँच महिनाअघि गुलरियाका एक युवकले भारतबाट ल्याएको दश किलो अवैध सुन काण्डमा पैसा खाएको भन्दै विवादमा मुछिएका थिए ।

उनले प्रहरी प्रमुख एसपी मोहनराज जोशी जिल्लामा नभएका बेला मातहतका प्रहरी प्रयोग गरी अवैध काम गर्दै आएको आरोप छ ।

यसैबीच पण्डितले आफूमाथि लागेका सबै आरोप असत्य भएको दाबी गरे । उनले क्षेत्रीय प्रहरी कार्यालयले आरोपबारे स्पष्टीकरण सोधेको र आफूले लिखित जवाफ दिइसकेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us