
काठमाण्डु, ९ भदौ– एमाले नेता माधवकुमार नेपाल तीर्थयात्राका लागि चीनको ल्हासा पुगेका छन् ।
पत्नी गायत्री र भाइहरु विनोद उपाध्याय र सरोज उपाध्यायसहित चाइना एयरको विमानमार्फत उनी सोमबार बिहा ल्हासा गएका हुन् । नेता नेपालले मानसरोबरसहित केही धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।
पारिवारिक भ्रमण भनिए पनि नेता नेपालले चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग अनौपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।
उनका स्वकीय सचिव मोहन गौतमले नेता नेपालले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीयस्तरका नेता र तिब्बत सरकारका प्रतिनिधिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिए ।
गौतमका अनुसार नेता नेपालले चीनले नेपालको केरुङसम्म ल्याउन लागेको रेलमार्गबारे चिनियाँ पक्षबाट जानकारी लिनेछन् । यसअघि एकीकृत माओवादी नेता बाबुराम भट्टराई गत वैशाखमा परिवारसहित मानसरोबार तीर्थाटन गएका थिए ।