चरीको शवमा पार्टी झण्डा ओढाएकामा पछुतो होइन, गर्व छः लोहनी

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ७ भदौ एमाले केन्द्रीय सदस्य खेम लोहनीले प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी चरीको शवमा पार्टी झण्डा ओढाएर आफूले ठीक khemगरेको दाबी गरेका छन् ।
चरीको मृत्युको १७ दिनपछि शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । त्यतिबेला लोहनीले चरीरको शवमा एमालेको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

काठमाण्डु टुडेसँग कुरा गर्दै लोहनीले चरी एमालेको प्रतिबद्ध कार्यकर्ता भएकाले उनको शवमा आफूले पार्टी झण्डा ओढाउनु स्वभाविक भएको दाबी गरे । गुण्डा नाइकेको छवि भएका चरीको शवमा पार्टी झण्डा ओढाइएकामा एमालेमा विवाद भएको छ ।

तर लोहनीले विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरे । उनले धादिङमा एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले त्यसको कदर स्वरुप चरीको शवमा पार्टी झण्डा ओढाइएको बताए ।

उनले चरीको शवमा पार्टीको झण्डा ओढाउने संस्थागत निर्णय भएको र आफूले निर्णय कार्यान्वयन मात्र गरेको बताए ।
लोहनीले चरीलाई सहिद घोषणा गर्न माग गरे । राज्यले हत्या गरेकाले उनलाई सहिद घोषणा गर्नुपर्ने एमालेको माग रहेको उनको भनाइ छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us