काठमाण्डु, ७ – भदौ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ कांग्रेस-एमाले सहमतिमा नआए सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी
दिएका छन् ।
संघीय गणतान्त्रिक मोर्चाले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले विगतको सहमति पालनामा ती दुई दल इमान्दार नभए सडकबाटै संविधान घोषणा गर्ने चेतावनी दिएका हुन् ।
उनले परिर्वतनकारी संविधान बनाउने सहमतिका लागि कांग्रेस-एमालेलाई भदौ मसान्तसम्मको अल्टिमेटम दिए । आफूले जनताको पक्षमा संविधान नबने आन्दोलन वा विद्रोह गर्ने कुरा गरेकामा हतियार उठाउने भनेको भन्दै सञ्चार माध्यमले भ्रम फैलाउने गरेको आरोप लगाए ।
कांग्रेस -एमालेले शक्तिको भाषा मात्र बुझ्ने भन्दै उनले संविधानसभाभित्र र बाहिरबाट सशक्त दबाब आवश्यक रहेको बताए ।
ती दुई दलले माओवादली जनयुद्ध र मधेस आन्दोलन केही होइन भन्दै हिंडेको भन्दै उनले नहेप्न चेतावनी दिए । माओवादी र मधेसवादी शक्तिलाई पेलपाल गर्ने भ्रममा नपर्न भने ।