सर्वसाधारणले पनि सैनिक अस्पतालमा उपचार गराउन पाउने

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १०:४८ मा प्रकाशित

काठमाण्डु, ७ भदौ –  सैनिक अस्पतालमा अब सर्वसाधारण जनताले उपचार गराउन पाउने भएबका छन् । करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो ।

army hsoहाल बहालवाला सैनिक र तिनका आश्रति परिवारलाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो ।

नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानले सर्वसाधारण जनता र भूतपूर्व सैनिक -भेट्रान)का लागि महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताललाई जीर्णोद्धार तथा थप नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सञ्चालनमा ल्याउन योजना बनाएको छ ।  उपरथी प्रा डा शिवबहादुर बस्नेतले भने-’आगामी दुई वर्षभित्रमा आम सर्वसाधारण नेपाली जनताले सैनिक अस्पतालबाट दक्षिण एसियामा उपलब्ध हुने सबै स्वास्थ्य सेवा पाउने छन् ।’

पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीका सम्झनामा विसं १९८२ मा त्रिचन्द्र मिलिटरी अस्पताल स्थापना भएको थियो । अस्पतालले तत्कालीन समयमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणलाई समेत भित्रयाएको थियो ।

विसं २०४६ पछि सो अस्पताल छाउनीमा स्थानान्तरण गरी वीरेन्द्र अस्पतालका रुपमा सञ्चालित छ । हाल अस्पतालको शैया क्षमता ६०१ रहेको छ भने आगामी मंसिर महिनाबाट १५० थप हुँदैछ ।

महाँकालमा स्थापना हुने अस्पतालको शय्या क्षमता ४६९ को हुनेछ । अस्पतालमा आधुनिक चिकित्सा विज्ञानका सबै सेवा र उपकरण सस्तो र गुणस्तरीय रुपमा उपलब्ध हुनेछ, वीरेन्द्र अस्पतालका निर्देशक सहायक रथी प्रा डा किशोर जबराले जानकारी दिए ।

सैनिक कल्याणकारी कोषले अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । कोषका निर्देशक सहायक रथी धनिदास कार्कीले भने-महाँकालको अस्पताल सेवाका लागि समर्पित हुनेछ, व्यवसाय र नाफा खोज्ने यसको ध्येय होइन ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us