काठमाण्डु, ७ भदौ– पुनरावेदन तहमा फैसला गर्दै न्याय दिलाउने जना न्यायाधीश प्रधानन्यायाधीश भएर उहिल्यै अवकाश भइसके ।
तीमध्ये त्रिलोकप्रताप राणाको निधन भइसक्यो । अरु चारजना पनि सर्वोच्च अदालतको न्यायाधीश भएर सेवा निवृत्त भइसके । तर न्याय कार्यान्वयन नभएर दुखीलाल सर्वोच्चमा धाइरहेका छन् ।
गाँसबासको केही ठेगान छैन । आफ्नो भन्ने एक टुक्रा जमिन पनि छैन । दुखीलाल देवको जीवनसँग यो नाम मिल्दो छ । ७५ वर्ष उमेर नाघेका उनी अलिकति जग्गा पाउने आशमा ३५ वर्षदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको हातबाट २०१४ सालमा पार्टी सदस्यता लिएर कांग्रेस राजनीतिमा सक्रिय भएको दुखीलाल बताउँछन् । कांग्रेसमा लागेको आरोपमा २०१७ सालमा केही दिन जेलमा हालिएको घटना उनलाई ताजैजस्तो लाग्छ । अदालत र भुमिसुधार कार्यालय धाउँदाधाउँदै उनका पाइताला पनि फुटेका छन् ।
सप्तरी भूमिसुधार कार्यालयबाट २०३६ साउन ४ गते सुरु भएको मुद्दामा सर्वोच्चबाट फैसला भए पनि उनले व्यवहारमा न्याय पाउन सकेका छैनन् । अदालतले न्याय दिए पनि सरकारबाट कार्यान्वयन नहुँदा दुखीलालले मुद्दाबाट मुक्ति पाउन नसकेका हुन् ।