त्रिपाल होइन, त्रिपाल राख्ने ठाउँ दिनुस्’

काठमाण्डु टुडे २०७१ भदौ ७ गते २:३२ मा प्रकाशित

सुर्खेत, ७ भदौ– सुर्खेतका बढीपीडितका लागि त्रिपाललगायत गैरखाद्य राहत सामग्री वितरण सुरु भएको छ ।
दैवीप्रकोप उद्धार समितिले वीरेन्द्रनगर–११ मा रहेको हस्तवीर प्राथमिक विद्यालयमा बसेका बाढीपीडितलाई खाद्यान्नबाहेकका सामग्री वितरण गरेको हो ।
तर पीडितले आफूहरुलाई त्रिपालको सट्टा बस्ने व्यवस्था गर्न माग गरेका छन् । पीडित विनायक शर्माले राहत वितरण कार्यक्रममा भने,  ‘राहत पाउनु राम्रो कुरा हो, तर हामीले पाएको राहत कहाँ राख्ने ?’

वीरेन्द्रनगर–११ इत्राम खोलानजिक रहेको उनको घर खोलाले बगाएको थियो । शर्माले आफूहरुलाई सबैभन्दा पहिले आवास चाहिएको बताए । ‘हामीलाई त्रिपाल दिएर काम छैन, अहिले विद्यालयमा छौं, यहाँबाट उठाउँदैछ,’ उनले भने ’अब हामीलाई त्रिपालले मात्र पुग्दैन, त्रिपाल टाँग्ने ठाउँको व्वस्था मिलाइदिनुस् ।’ उनले आफूहरुलाई सबैभन्दा पहिले गाँस र त्यसपछि आवास चाहिएको बताए ।

सोही स्थानका अर्का पीडित सर्पे घर्तीमगरले आवासबिनाको राहतको केही काम नभएको बताए । ‘अहिले स्कुलमा बसेका छौं, सधैं स्कुलमा बस्न दिदैनन् होला, यहाँबाट पनि उठ् भनेपछि यी त्रिपाल लिएर हामी कहाँ जाने ?’ उनले भने, ’घर बगेर गयो, अन्त बस्ने ठाउँ छैन, त्रिपाल टाँग्ने ठाउँ त चाहियो नि ।’
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us