कटवालले खेताला खोजेर लेखेको आत्मकथा नाटकजस्तै

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ११:१९ मा प्रकाशित

kul bahadurखेताला खाेजेर किताब

नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङगद कटवालको आत्मकथा बजारमा आएको छ । मैले पनि पढें । तर जुन स्तरमा चर्चा गरिएको छ । चर्चाका लागि त्यो कुनै हालतमा लायक छैन । मैले नेपाली सेनामा लामो समय बिताएको छु । कटवाललाई नजिकबाट चिनेको र बुझेको छु । कटवालको आत्मकथा पढ्दै जाँदा मलाई त्यो भित्र आत्मकथा कम र मनोरति धेरै पोखिएको छ ।

कटवाल एउटा असल नाटककार पनि हुन् । सेनाभित्र हुँदा धेरैपटक उनको नाटक देखेको छु । विगतमा आर्मीको पोशाक लगाएर पत्रपत्रिकाका छद्म नाममा राजनीतिक लेखहरु छपाउँथे । खेताला खोजेर लेखिएको यो आत्मकथा पनि एउटा नाटक मात्र हो । यो पुस्तक उनले आफूले लेखेका पनि होइनन् । उनको खेतालाले लेखेको हो । खेताला पनि राम्रो खोजेको भए हुन्थ्यो । कस्तो खेताला खोजेछन् भने जोत्ने/खन्ने केही सिप नभएको । किन भने उनका खेतालाले जे लेखेका छन्, त्यसमा निम्नकोटीको भाषा प्रयोग भएको छ ।

उतिबेला खुट्टा समाउने अहिले गाली गर्ने ?
गिरिजाप्रसाद कोइराला कार्यबाहक राष्ट्रप्रमुखको हैसियतमा नारायणहिटी दरबारमा झण्डोत्तोलन गर्न गएका बेला कटवाल प्रधानसेनापति थिए । औपचारिक पोशाकमा रहेका उनले गिरिजाप्रसादको अगाडि घुँडा टेकेर धनुष्टंकार गरेका थिए । सेनाको सेकेण्ड म्यानको हैसियतमा मलाई त्यो घटनाले लज्ज्ति तुल्याएको थियो । यो सबैले देखेको कुरा हो । कुनै आग्रह प्रेरित आरोप होइन । अहिले म सुन्दैछु कि गिरिजालाई यसरी थर्काएँ, उसरी थर्काएँ । कटवालले ज्ञानेन्द्र, गिरिजा र प्रचण्डलाई थर्काएको भन्ने कुरा म पत्याउन सक्दिन । उनको असली चरित्र नै त्यस्तो होइन ।

अात्‍मकथा सबै झुठ
पुस्तकमा मेरा बारेमा पनि उल्लेख गरिएको रहेछ । ती सबै बनावटी र झुठ कुरा हुन् । ती सबै कुराको खण्डन गर्न म तयार छु । कटवालले अहिले जति ठूला कुरा गरे पनि प्रचण्डको सरकारले बर्खास्त गरेका बेलाको अनुहार अहिले पनि म झल्झली सम्झन्छु । उनी अत्यन्तै विक्षिप्त बनेका थिए । भन्ने नै हो भने त मसँग उनले त्यतिबेला ठूलो स्वरमा बोल्ने आँट पनि गरेका थिएनन् । उनलाई कारबाही गरेको चिठी लिएर म जंगीअड्डा गएको थिएँ । के त्यसरी चिठी लिएर जाने म चाहिं लुत्ते थिएँ ? मैले सरकारले हटाएको चिठी दिएपछि उनले भनेको यत्ति हो कि ‘तपाईंको पदोन्नति भइसकेको हो कि, कार्यबाहक मात्र हो ?’

मेरो रौं पनि हल्लाउन सकेनन्
कटवालले मेरो बारेमा जे–जे हल्ला गरे पनि एउटा रौंसम्म हल्लाउन सकेका होइनन् । मैले मुलुकमा जे सुकै होस् म छाड्दिन भनेर अड्डी कसेर बसेको भए कटवालको पुनस्र्थापना हुन सक्ने नै थिएन । उनले सरकारको निर्णयका विरुद्धमा जर्नेलहरुलाई सही गराए । मलाई कोर्टमार्शल गराउने भन्दै हिंडे । तर उनले सके ? उनी त अवैधानिक प्रधानसेनापति थिए । संवैधानिक सनापति भएकाले बरु मैले उनलाई कोर्ट मार्शल गर्न सक्थें । मलाई मोर्टमार्शल गराउन उनी धेरै समय फाइल बोकेर विद्या भण्डारी (तत्कालिन रक्षामन्त्री) को पछि लागे । उनले सकेको भए मेरो बर्दी फुकालेर जेल हाल्न खोजेका थिए । विद्याले पनि भनेको सुनेको हुँ, कुलबहादुरलाई कोर्टमार्शल हुन्छ भनेर । कटवाल सेनामा छउन्जेल मलाई सधैं घेराबन्दीमा राखे । दुई लेफ्टिनेन्ट कर्णेल र एक मेजरलाई मेरो पछाडि लगाएका थिए । उनीहरु म जताजता गयो त्यतै जासुसी गरेर हिंड्थे । कटवाल कति काँतर थिए भन्ने त यही कुराबाट थापा भइहाल्छ नि ?

कटवाल अवसरवादी
कटवाल अवसरवादी मान्छे हुन् । आफ्नो फाइदाका लागि अरुमाथि जस्तोसुकै षड्यन्त्र गर्न पछि नपर्ने मान्छे हो । दरबारमा हुर्किएको भएर पनि त्यस्तो भएको होला । कटवाल दरबारमै हुर्किएका भए पनि आखिरीमा उनले राजतन्त्रका लागि के गरे ? त्यहीबाट पुष्टि हुन्छ उनमा कति अवसरवादीता छ भनेर । राजसंस्थाको निगाहमा सेनामा पसेका उनले राजतन्त्र जोगाउन के–के गरें भनेर किताबमा कलात्मक प्रस्तुति पस्केका छन् । त्यसो भए राजतन्त्र जाँदा किन टुलुटुलु हेरेर बसे त उनी ? मेरो विचारमा उनले त्यतिबेला केही गरेका थिएनन् र एउटा सेनापतिले गरेर हुने पनि केही थिएन ।
कटवाल विदेशीका सेनापति ?
किताबमा आफूलाई जतिसुकै राष्ट्रवादी र प्रजातन्त्रवादी दाबी गरे पनि कटवालले त्यतिबेला विदेशीसँग कस्तो सम्बन्ध राखेका थिए, मलाई थाहा छ । सरकारले बर्खास्त गरेपछि उनले मित्रराष्ट्रका व्यक्तिहरुलाई फोन गरे । कटवालले फोन गरेपछि त्यताबाट राष्ट्रपतिलाई फोन आयो । राष्ट्रपतिलाई भनियो कि ‘कटवाल हाम्रो सेनापति हो, उसलाई नछुनु ।’
रामवरणलाई राष्ट्रपति बनाएकाे हावादारी गफ
पुस्तकमा एक ठाउँमा छ कि, संसदमा राष्ट्रपति निर्वाचन हुने दिन म गल्फ खेलिराखेको थिएँ, मलाई फोन आयो, विभिन्न नेतालाई भनेर रामवरणलाई राष्ट्रपति बनाउन भोट मागें । के सेनाको गैरराजनीतिक चरित्रलाई आफ्नो प्राणभन्दा प्यारो दाबी गर्ने उनले राष्ट्रपतिका लागि भोट माग्न मिल्थ्यो ? म चानचुने मान्छे होइन राष्ट्रपतिसमेत चुनाउन सक्ने हैसियतको मान्छे हुँ भन्ने दम्भ देखाउन खोजेका छन् ।
झलनाथको यस्तो पारा
सरकारले कटवाललाई हटाएपछि जननिर्वाचित सरकारको निर्णय उल्ट्याउन माग गर्दै १४ पार्टीले राष्ट्रपतिसामु बिन्तिपत्र चढाए । त्यसमा एक नम्बरमा सही गरेका थिए, तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले । एमाले बामदेव गौतमको नेतृत्वमा सरकारमा थियो । सत्तारुढ घटकको प्रमुख नेताका हैसियतमा खनालले कटवालमाथि कारबाही गर्न प्रचण्डलाई ‘ग्रिन सिग्नल’ दिएका थिए । मलाई अझै पनि राम्ररी सम्झना छ । चीन उड्नुअघि विमानस्थलमा खनालले पत्रकारहरुसँग भनेका थिए । ‘सरकारको आदेश नमान्ने प्रधानसेनापतिमाथि कारबाही हुन्छ, मैले प्रधानमन्त्रीलाई ‘गो अ हेड’ भनेको छु ।’ चीन भएकै बेलामा उनलाई अर्को देशबाट फोन आयो । भ्रमण छोट्याएर हतारहतार स्वदेश फर्किए । त्यसो किन भएको थियो भने उनलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइएको थियो । प्रधानमन्त्री पदको लोभमा परेर झलनाथले प्रचण्डलाई धोका दिए । कटवाल र झलनाथबीच वैशाख १८ गतेको राति ११ बजेदेखि १ बजेसम्म झलनाथको घर डल्लुमा कुरा भएको थियो । त्यहाँ भएका सबै कुरा मलाई थाहा छ ।

(कुराकानीमा आधारित )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us