काठमाण्डु, ६ भदौ –पति श्रीकृष्ण श्रेष्ठको मृत्युको १३ औं दिनसम्म पनि श्वेता खड्का सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । श्रीको १३ औं
पुण्यतिथिमा परिवारले राखेको प्रसादग्रहण कार्यक्रममा उनी भावविह्वल बनिन् ।
उनको अवस्था देखेर नरसाएका आखाँ सायदै थिए । श्रीकृष्णको परिवारले १३ औं पुण्यतिथिको प्रसाद कार्यक्रम मात्र राख्न चोहेको भए पनि चलचित्रकर्मीको अनुरोध र व्यवस्थापनमा श्रद्धाञ्ली सभाको आयोजना गरियो । सञ्चारमन्त्री मिनेन्द्र रिजाल, श्रीकृष्णका आफन्त, चलचित्रकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरु उपस्थित सभामा श्वेता रोइमात्र रहिन् ।
सबैले उनीप्रति सहानुभुति प्रकट गर्दै जिन्दगी अघि बढाउनका लागि साहस जुटाउन अनुरोध गरे । तर, उनी बोल्न सक्ने अवस्थामा थिइनन् । श्रद्धाञ्जली अर्पण गर्न ड्यासमा पुग्ने चलचित्रकर्मीले जब श्रीकृष्णको व्यक्तित्व, व्यवहार र योगदानबारे चर्चा गर्थे तब श्वेता भक्कानिन्थिन् । छेवैमा बसेकी दिदीले बारम्बार उनको आँसु पुछिदिन्थिन् । तर, फेरि आँसु बगिहाल्थ्यो । असैह्य पीडामा थिइन् श्वेता । श्रीकृष्णका आमा,श्रीकृष्णका दाईहरु ,आफन्त मात्र होइन, उपस्थित कलाकार तथा सञ्चारकर्मीहरुको आँखा पनि आँसुले छचल्किएका थिए ।
नयाँ पत्रिकाबाट