काठमाण्डु, ५ भदौ– आफू ‘डन’ भएको बताउँदै टेलिफोनमा धम्की दिएर रकम माग गर्ने एक युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले धापासी(९ का १८ वर्षीय आशिष पाण्डेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पाण्डेले आफूलाई ‘अमित डन’ बताउँदै न्यूरोडका एक कम्प्युटर व्यापारीसँग १५ लाख मागेका थिए । उनले एक साताभित्र आफूले मागेजति पैसा नदिए घाँटी छिनालेर सिध्याइदिने धम्की दिएका थिए ।
अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले पाण्डेले अर्कै व्यक्तिको फोन दुरुपयोग गरी व्यापारीलाई धम्क्याएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको कार्कीले जानकारी दिए ।