काठमाण्डु, ४ भदौ– चर्चित डन दिनेश अधिकारी ‘चरी’ गएको साउन २१ गते धादिङको सीमानामा पर्ने काठमाण्डुको भीमढुंगामा प्रहरी मुठभेडमा
मारिए ।
चरीको शव जतिखेर सार्वजनिक भयो, त्यतिबेला उनको शरीरमा सेतो सर्ट र निलो पाइन्ट थियो । सर्ट केही माथि सरेको थियो । तर अस्पताल पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउँदा कपडा थिएन ।
ट्याटु नै ट्याटु भएको शरीरको तस्वीर मिडियाले खिचेका थिए । परिवारले अहिले चरीको सर्ट मागेर प्रहरीलाई हैरान पारेको छ । चरीका दाजु ध्रुव अधिकारीले काठमाण्डु टुडेसँग कुरा गर्दै पटकपटक माग्दा पनि प्रहरीले भाइको सर्ट नदिएको बताए । सर्ट लुकाइनुले भाइको नियोजित हत्या भएको भन्नै आफूहरुको आशंका थप पुष्टि भएको दाबी उनको छ ।
‘पटकपटक मागिसक्यौं, प्रहरीले सर्ट दिनै मानेको छैन, प्रहरीलाई उसको सर्ट लुकाउन किन जरुरी पर्यो ?’, अधिकारीले भने, यसले पनि घटना नियोजित थियो भन्ने देखाएको छ ।’
भाईको सर्ट नदिएसम्म पोष्टमार्टम रिपोर्टमा विश्वास गर्न नसकिने अधिकारीले बताए । हत्याको प्रमाण मेटाउन चरीको सर्ट लुकाइएको दाबी उनको छ ।
पोष्टमार्टममा सहभागी चिकित्सकले एक गोली हान्दैमा मान्छे ढल्ने भए पनि चरीलाई सात गोली हानिएकामा आश्चर्य प्रकट गरेको उनको भनाइ छ ।
चरीको सर्टबारे के भन्छ प्रहरी ?
यसैबीच महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको शव प्रहरीले नलुकाएको बताएका छन् ।
उनले पोष्टमार्टमअघि ‘डकुमेन्टेसन’ का लागि कपडा राखिएको र अब लैजान सक्ने काठमाण्डु टुडेलाई बताए ।
उनले महानगरीय प्रहरी परिसर हनुमानढोकामा चरीको कपडा सुरक्षित राखिएको स्प्ष्ट गरे । ‘पोष्टमार्टमअघि ‘डकुमेन्टेसन’ का लागि कपडा राखिएको हो’, कार्कीले भने, ‘पोष्टमार्टम भइसक्यो, अब उहाँहरुका परिवारले त्यो लैजान सक्नुहुन्छ ।’
उनले चरीको सर्ट प्रहरीलाई काम नलाग्ने भन्दै कानुनी प्रक्रियाका लागि आवश्यक पर्ने भएकाले मात्र राखिएको तर्क गरे ।