काठमाण्डु, ४ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष मोहन वैद्य र सचिव नेतृविक्रम चन्द पक्षबीच विवाद चर्किएको हो । होटल हायतमा व्यवस्थापनले सात मजदुर निष्काशन गरेपछि सोही विषयलाई लिएर विवाद भएको हो । विवादका कारण संयोजक रामदीप आचार्यले बद्री चापागाईंलाई होटल मजदुर संघको अध्यक्षबाट हटाएका छन् ।
चापागाईंको स्थानमा भानुभक्त आचार्यलाई ल्याइएको छ । चापागाईंमाथि कारबाही भएको विषय पार्टी पोलिट्ब्युरोसम्म पुगेको छ । आचार्यले संगठनको कागजात किर्ते गरी हायत होटल व्यवस्थापनलाई पत्र पठाएकाले चापागाईंमाथि कारबाही काठमाण्डु टुडेलाई बताए ।
चापागाईंले भने आचार्यले मजदुर निकाल्ने व्यवस्थापन पक्षको निर्णय सदर गर्दै मजदुरमारा काम गरेको आरोप लगाए । उनले आचार्यले आन्दोलन बेठीक भएको भन्दै त्यसमा संलग्नमाथि कारबाही गरिएको पत्र व्यवस्थापनलाई पठाएको दाबी गरे । ‘रामदीपले मजदुरका नाममा व्यवस्थापनसँग मिलेर मजदुर मारा काम गरे’, चापागाईंले भने, ‘ममाथिको कारबाही हास्यास्पद हो, हाम्रो आन्दोलन जारी छ ।’
रामदीपले होटल व्यवस्थापनलाई पठाएको भन्दै अखिल क्रान्तिकारीका नेता सुरेश आचार्यले फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा चापागाईंलाई जिम्मेवारीबाट हटाएर भानुभक्त आचार्यलाई जिम्मेवारी दिइएको तथा जारी आन्दोलन आधिकारिक नभएको उल्लेख छ । ‘हाम्रो नीति निर्णयविपरीत भएको भएको कामको जिम्मा नलिने कुराको यसै पत्रमार्फत जानकारी गराउँदै निर्धक्कसँग आफ्नो काम कारबाहीलाई अगाडि बढाउन अनुरोध गर्दछौं’, पत्रमा भनिएको छ । तर आचार्य पत्र आफ्नो नभएको बताउँछन् ।
‘संगठनको लेटर प्याड किर्ते गरी नक्कली पत्र पठाएर पार्टी र संगठनविरुद्ध जघन्य अपराध भएको छ’, आचार्यले भने, ‘त्यसबारे छानबिन भइरहेको छ, उनीहरुमाथि कारबाही हुन्छ ।’ आफूले मजदुर निकाल्ने कुराको समर्थन गर्ने कुरा सोच्नसमेत नसक्ने आचार्यले बताए ।
यसैबीच उक्त प्रकरण छानबिनका लागि नेवा: राज्य समितिले तीन सदस्यीय समिति गठन गरेको छ ।
केन्द्रीय सदस्य राम आचार्यको नेतृत्वम गठित समितिमा वैकल्पिक केन्द्रीय सदस्यद्वय बद्री बजगाईं र सुदीप मल्ल सदस्य छन् ।