काठमाण्डु, ४ भदौ– मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम आज नेपाल आउँदैछन् ।
आफ्नो मुलुकमा नेपाली आप्रवासी कामदारको व्यवस्थापनबारे नेपालका उच्च सरकारी अधिकारीसँग छलफल गर्न नौ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आउन लागेका हुन् ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा नेपाल आउन लागेका उनलाई अधिकारीहरुले नेपाली कामदारका लागि मलेसिया जान नि:शुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गर्ने भएका छन् । मलेसियाको लागत ८० हजार भए पनि कामदारले डेढदेखि दुई लाख रुपैयाँसम्म तिरिरहेका छन् ।
भ्रमणका क्रममा नेपालले मलेसियामा रहेका अवैधानिक कायदारलाई घर फिर्तीका लागि सहयोग गर्न तथा विभिन्न अभियोगमा त्यहाँका जेलमा रहेका नेपालीलाई रिहा गर्न आग्रह गर्ने तयारी गरेको छ । रिचार्डको भ्रमणका क्रममा यसअघि हुने भनिएको द्विपक्षीय श्रम सम्झौता भने नहुने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले बताए ।
नेपाली महिलालाई घरेलु कामदारका रुपमा लैजान आग्रह गर्ने तयारी नेपालको छ । यसअघि महिलालाई उक्त मुलुकमा घरेलु कामदारका रूपमा जाने अनुमति थिएन । मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
हाल मलेसियामा झन्डै सात लाख नेपाली छन् । यस्तै सरकारले नेपाली कामदारको पारिश्रमिक अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पनि आग्रह गर्नेछ । नेपालले कामदारक लागि श्रम सम्झौता गर्न मलेसिया सरकारलाई मस्यौदा पठाइसकेको छ ।
मन्त्री जायमले नेपाल भ्रमण सकेपछि उनको निमन्त्रणामा नेपालका श्रम तथा रोजागर राज्यमन्त्री गुरुङ मलेसिया जाने र त्यही बेला श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ।
नेपाल बसाइका क्रममा जायमले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।