सारीले बाँधेकी छोरी काखबाट बगायो

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १:४५ मा प्रकाशित

बर्दिया, ४ भदौ– ‘सानी छोरीलाई काखमा सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ ।
पाँच वर्षिया छोरी काखैबाट बगी, सासुससुरालाई पनि बगायो’, किरिया बसेकी राजापुर टपरकी २२ वर्षीया तुलसी खत्रीले रुँदे भनिन्, ‘६ जनाको हाम्रो परिवारमा अहिले तीन जना मात्र बाँचेका छौं ।’
लगातार वर्षासँगै बाढी आउँदा तुलसीको परिवारले पाएको कष्ट सहिनसक्नुको छ । ‘सुरुमा घर डुवाएर एउटा छाना बगायो, त्यसपछि श्रीमानले हामीलाई अर्को छानामा सार्नुभयो । हेर्दाहेर्दै त्यो पनि बगायो । त्यसपछि दुईटी छोरीलाई मसँगै रुखमा लगेर राख्नुभयो’ तुलसीले दुःख सुनाउँदै भनिन्,‘ दिउँसो १२ बजेदेखि ४ बजेसम्म दुईवटी छोरीलाई लिएर बसेँ । सानीलाई सारीले कम्मरमा बाँधे,ठूलीलाई रुखमा दह्रोसँग समाउन भनेँ । उनीहरुलाई रुखमा पुर्‍याएर तुलसीका पति बाबुआमालाई बचाउन घरमा गएका थिए ।

‘बाबुआमालाई बचाउन सक्नुभएन, आफू पनि बग्नु भएछ, तर बाच्नुभएछ’ तुलसीले भनिन्,‘ यता हामी बसेको रुख पनि ढल्यो । सानी छोरीलाई काखबाटै बगायो । म पनि बगेँ । ठूली छोरी खै कसरी बाँची थाहा छैन । म तीन सय मिटर जति बगेपछि एउटा रुखलाई समाउन पुगेछु र बाँचे ।’ उनले आफू दुईदिनसम्म त्यही रुख समातेर बसेको र पछि उद्धार भएको बताइन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us