
काठमाण्डु, ३ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई कसैले लुट्न र ठग्न बाँकी नराखेको बताएका छन् ।
सार्वजनिक खरीद अनुगमन कार्यालयको आठौं स्थापना दिवसको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचारी मानसिकता त्याग्न आग्रह गरेका हुन् ।
भ्रष्टचार नियन्त्रणका लागि ऐन, नियम, कानुन र संस्थागत संयन्त्र भएपनि भ्रष्ट्राचार नरोकिएको कोइरालाले बताए । उनले भने –’मुलुकमा कति काण्ड भए । तर उचित कारवाही हुन नसक्दा झनै भ्रष्टचारले मलजल पायो । खरिदार, मुखिया जस्ता तल्लो तहका कर्मचारीलाई कारवाही गरेर झारा टारियो ।’
मुलुक परिवर्तनका नारा दिएर राजनीतिमा आएका नेता र मन्त्रीहरु भ्रष्ट्राचार गर्न पछि नपरेको भन्दै उनले भने – ’प्रजातन्त्रको लडाई मोजमस्ती र व्यक्तिगत फाइदाका लागि हैन, देश र जनताको सामाजिक र आर्थिक अवस्था सुर्धान सकिएला भनेर हो ।’
प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार दुई तिहाइ बहुमतले निर्वाचित भएको भन्दै केही काम गरेरै देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘मैले ठूलो कमिटमेण्ट लिएर आएको छु, पूरा गरेरै छोड्छु’–उनले भने ।
प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुले व्यावसायिकता देखाएर नियमानुसार काम गरेमा मुलुक बन्न समय नलाग्ने बताए । उनले(’कर्मचारी भनेको मन्त्रीको दास होइन । व्यावसायिक रुपले काम गर्नुस् । नियम कानुनले मिल्दैन भने गलत काम गर्न बाध्य नपार्नुस् भनेर जिद्धि पनि गर्नुहोला ।’
प्रधानमन्त्री कोइरालाले भारतले सहयोगको हात बढाएको भन्दै भने–’नेपाललाई तल पारेर म कुनै सम्झौता गर्दिन । तर, राष्ट्रिय हितका लागि समानताका आधारमा गरिने संझौता गरेरै छाड्छु ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि नेपालको नाम लिएर भारतमा पनि शान्ति र अहिंसाको सन्देश फैलाएको भन्दै कोइरालाले भने–’हामीले किचकिच गर्नुभन्दा के गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ ।’ दुवै मुलुकको हित हुने गरी काम गर्न सकिने भन्दै काइरालाले कुनै पनि नेपालीको टाउको निहुर्यानउने काम नगर्दिने प्रतिवद्धता जनाए ।
जलस्रोतको अपार सम्पदा भएको मुलुकमा लोडसेडिङको समस्या रहेको भन्दै कोइरालाले भने–सार्क सम्मेलन आउन लाग्यो । बत्ति छैन । उसैलाई थप बिद्युत देऊ भनेर गुहार माग्नु परेको छ । तर, नेपालमा उत्पादित बिजुली पैसा तिरेर किन्छु भनेर आउँदा हामीकहाँ शंका हुन्छ । कस्तो हृयुमिलियटिङ्ग अवस्था छ ।’