
कम्युनिष्ट पार्टीको नेतृत्व प्राधिकारयुक्त र शक्तिशाली हुनुपर्ने हो तर, हाम्रो अध्यक्ष प्रचण्ड अहिले निरीह अवस्थामा हुनुहुन्छ । हामीेल दुईवटा कारणले उहाँ निरीह हुनुभएको ठानेका छौं । पहिलो दक्षिणपन्थी अवसरवाद । त्यसलाई जनताले पनि चिनेका छन् । लामो समयदेखि पार्टीमा त्यो प्रवृत्तिविरुद्ध हामी लड्दै पनि आएका छौं । त्यसले अराजकता तथा घुर्की, धम्की देखाएर पदप्रतिष्ठाका लागि लड्छ । अर्को आत्मकेन्द्रित व्यक्तिवादमा आधारित छद्म प्रकारको दक्षिणपन्थी प्रवृत्ति देखा परेको छ । त्यसले रुपमा आफूलाई बाम देखाउने गरे पनि सारत: त्यो पनि दक्षिणपन्थ प्रवृत्ति नै हो । त्यस्तो प्रवृत्तिले नेतृत्वको वरिपरि बसेर हाफ्नो हालीमुहाली चलाउने र आफ्ना कालाकर्तुतहरु लुकाउने कोसिस गरिरहेको छ । त्यो प्रवृत्तिलाई हामीले लिनप्याओवादी प्रवृत्तिको उपमा दिएका छौं । त्यो ‘मुखमा रामराम बगलीमा छुरा’ भनेजस्तो खतरा प्रवृत्ति हो । चीनमा माओलाई देशको महान प्रतिभा भनेर प्रसंशा गर्ने र अध्यक्ष मात्र नभएर राष्ट्राध्यक्ष हुनुपर्छ भन्नेहरु थिए । तर माओ चढेको रेलको सिटमुनि बम फिट गर्ने पनि उनीहरु नै थिए । सूचना पाएकाले धन्न माओ त्यो बेला बाच्न सफल हुनुभएको थियो ।
नेपालमा पनि त्यही प्रकारको प्रवृत्ति हाम्रो पार्टीमा देखा परेको छ। । बाहिर देखाउन जे–जे भनिए पनि सारमा यो पनि ‘बम फिट गर्ने’ प्रवृत्ति नै हो । उनीहरु नेतृत्व हत्याउन र आफूलाई जवर्जस्त उत्तराधिकारीका रुपमा पेश गर्न बाहिरबाट परितालित भएका छन् । आफ्नो उद्देश्य पूर्तिका लागि त्यो प्रवृत्तिले पार्टीत्रिका क्रान्तिकारी र इमानदारहरुलाई साइजमा ल्याएर सिध्याउने रणनीति लिएको देखिन्छ ।
बाहिरै देखिने दक्षिणपन्थी अवसरवादी प्रवृत्ति र भित्री घेरामा रहेको लिन प्याओवादी प्रवृत्तिवरुद्ध हामीले संगठित रुपमा आवाज उठाउन सुरु गरेका छौं । यी दुई प्रवृत्तिका कारण क्रान्तिकारीहरुको आवाज पार्टी हेर्डक्वाटरमा पुग्नै पाएको छैन । यी दुईथरिले पार्टी हेर्डक्वाटरलाई घेरर राखेका छन् । जनता र कार्यकर्ताको बीचमा आउनै दिएका छैनन् । वा उनीहरुको कुरा सुन्ने अवस्था अहिले देखिएको छैन । हामीले यस्तो अवस्थालाई चिरेर पार्टीको उद्धार र अध्यक्ष प्रचण्डलाई सहयोग गर्न चाहेका हौं । दक्षिणपन्थी र छदम दक्षिणपन्थीहरुको कब्जामा रहेको पार्टीलाई उद्धार गर्न टिम चाहिने भएकाले हामीले टिम बनाएका छौं । हाम्रो आवाज नसुन्ने र सुन्न नदिने अवस्था आएपछि बाध्य भएर हामीले यसो गरेका हौं ।
पार्टीभित्र हाम्रो आवाज सुन्ने वातावरण बनाउन हामीले देशभर छलफल लचाउन सुरु गरेका छौं । तर, एउटा कुरा के प्रष्ट हुन जरुरी छ भने हामीले पार्टीभित्र अरु सनातन गुटहरुजस्तै नयाँ गुट जन्माएका होइनौं । बरु हामीले संस्थागत हुँदै गएको गुटबन्दी अन्त्य गर्न यसो गरेका हौं ।
हामीले लुकीचोरी अर्को शक्ति निर्माण गरेका होइनौं । अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेरै यसबारे जानकारी गराएका छौं । हामीले गलत प्रवृत्ति र भ्रमहरुको चिरफार गरेर इमान्दार क्रान्तिकारीहरुलाई स्थापित गरेर जाने हिसाबले यसो गरेका भनेका छौं । हाम्रो उद्देश्य माक्र्सवादको पुर्नअध्ययन गरी त्यसको विकासमा लाग्नुपर्छ भन्ने हो । तब मात्र कम्युनिष्ट पार्टी निर्माण सम्भव छ । हाम्रो पार्टीलाई मोडेलका रुपमा खडा गरेर र माक्र्सवादका सही पक्षलाई स्थापित गरेर बीचैमा रोकिएको नेपाली क्रान्तिलाई निष्कर्षमा पुर्याउनु हाम्रो सबैभन्दा महत्वपूर्ण उद्देश्य हो । सुरुमा हामीले १५ जना केन्द्रीय सदस्यबाट छलफल थालेका हौं । अहिले ३५ जना पुगेका छौं । थप साथीहरुसँग पनि छलफल भइरहेको छ ।
(लेखक एमाओवादीका पोलिट्ब्युरो सदस्य हुन्)